सात वर्षको प्रतीक्षापछि नारायणगढ–बुटवल सडक अन्तिम चरणमा, अब करिब दुई घण्टामै यात्रा सम्भव
चितवन। झण्डै सात वर्षदेखि निर्माणाधीन रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेपछि यात्रुहरूले ठूलो राहत महसुस गर्न थालेका छन्। वर्षौँसम्म धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण चर्चामा रहेको यो सडक अहिले अधिकांश भागमा सहज बनेको छ। अहिले सामान्य अवस्थामा नारायणगढदेखि बुटवलसम्म पुग्न करिब दुई घण्टा मात्रै लाग्ने गरेको छ भने केही निजी सवारी चालकले एक घण्टा ३० मिनेटमै यात्रा पूरा गरेको अनुभव सुनाएका छन्।
केही समयअघिसम्म विशेषगरी दाउन्ने क्षेत्रमा लामो जामका कारण यात्रुले रातभर सडकमै बस्नुपर्ने अवस्था थियो। वर्षायाम र चाडपर्वका बेला त घर पुग्नसमेत नसक्ने स्थिति सिर्जना हुन्थ्यो। अहिले भने सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएपछि ती सबै कठिनाइ क्रमशः हट्दै गएका छन्।
ग्यास उद्योगी विमल कालाखेतीले हालै बुटवलदेखि नारायणगढसम्मको यात्रा एक घण्टा ३० मिनेटमै पूरा गरेको बताए। सडकमा कतै अवरोध नरहेको र यात्रा निकै सहज भएको अनुभव उनले सुनाए।
रुपन्देहीको तिलोत्तमा–४ का उद्योगी प्रकाश आचार्यले नारायणगढबाट घर पुग्न एक घण्टा ५० मिनेट मात्रै लागेको बताए। परिवारसहित निजी सवारीमा यात्रा गर्दा विगतको जस्तो दुःख नरहेको भन्दै उनले पहिले दाउन्नेमा जामका कारण नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलिपल्ट बिहान १० बजे मात्रै घर पुगेको तितो अनुभव पनि स्मरण गरे। अहिले सडक फराकिलो र गुणस्तरीय बनेकाले यात्रा निकै सहज भएको उनको भनाइ छ।
बुधबार बुटवलबाट नारायणगढ दुई घण्टामै आइपुगेका सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि विगतमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय खर्चिनुपरेको सम्झिए। दसैंका बेला परिवारसहित यात्रा गर्दा दिनभर सडकमै बिताउनुपरेको अनुभव सुनाउँदै उनले अहिलेको परिवर्तनलाई निकै सकारात्मक बताए।
भरतपुरका एक कर्मचारीले निजी गाडीमा नारायणगढबाट बुटवलको चौराहा चोकसम्म एक घण्टा ४४ मिनेटमै पुगेको बताए। बाटोमा दुई पटक रोकिँदा पनि यात्रा छोटो समयमै पूरा भएको उनले उल्लेख गरे।
सडकको दयनीय अवस्थाका कारण केही समयअघि बुटवल, पाल्पालगायत क्षेत्रबाट चितवन आउने यात्रुहरू पोखरा हुँदै घुमाउरो यात्रा गर्न बाध्य थिए। कतिपयले कालीगण्डकी करिडोर प्रयोग गर्थे भने केही यात्रु भैरहवाबाट हवाईमार्ग हुँदै काठमाडौं पुगेर फेरि चितवन आउने विकल्प रोज्ने गरेका थिए।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार पहिले रातभर जाममा बस्नुपर्ने अवस्था अहिले हटेको छ। यात्रु चढाउँदै–ओराल्दै गर्दा पनि तीन घण्टाभित्र यात्रा सम्पन्न हुने गरेको उनले बताए। विगतमा दैनिकजसो सवारीसाधन बिग्रिने र मर्मत गर्नुपर्ने समस्या अहिले लगभग अन्त्य भएको उनको भनाइ छ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको दुवै खण्डमा करिब ९२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना निर्माण, केही स्थानमा नाली जोड्ने तथा अन्तिम फिनिसिङका काम मात्रै बाँकी छन्।
नारायणगढदेखि बुटवलसम्मको कुल दूरी ११३.३५ किलोमिटर रहेको छ। आयोजनालाई दुई खण्डमा विभाजन गरेर एउटै चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’लाई निर्माणको जिम्मा दिइएको हो। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस परियोजनामा एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।
२०७५ चैत ८ गतेदेखि निर्माण सुरु गरिएको यो सडक सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न कारणले पटक–पटक म्याद थपिँदै आएको छ। ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लामो दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा निर्माण गरिएको छ।
यस आयोजनाअन्तर्गत साविकको दुई लेन सडकलाई चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका २८ किलोमिटर सडकलाई छ लेनमा स्तरोन्नति गरिएको छ। सडक विस्तार अन्तिम चरणमा पुगेसँगै अब पूर्व–पश्चिम यात्रा थप सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment