सरकारको नियतमा शंका छैन, तर सञ्चालनको ढंग पुगेन: मनिष झा

डिसी नेपाल
२२ साउन २०८३ १७:२१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र निष्ठामा शंका नभए पनि राज्य सञ्चालनमा भने ढंग नपुगेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले आफूलाई के कुरा थाहा छैन भन्ने बुझेर नेतृत्वले सिक्ने र कार्यशैली सुधार्ने प्रयास गर्नुपर्ने बताए। उनले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै थाहा छ भन्ने सोचले विकास रोक्ने उल्लेख गरे।

देशको विकासमा दिगोपन र सन्तुलन आवश्यक रहेको औंल्याउँदै उनले मधेश, निजी क्षेत्र र प्रवासमा रहेका नेपालीहरूलाई साथमा लिएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए।

“मधेशमा आगो निभेको छ, तर दाउरा बाँकी नै छ”

मुलुकका विभिन्न भागमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सांसद झाले भने, “मधेशमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन, त्यसमा सचेत भइराख्नुस्।”

राज्यको व्यवहारमा विभेद र असन्तुलन कायम रहेको भन्दै उनले सीमा क्षेत्र र विमानस्थलमा हुने भिन्न व्यवहारप्रति आपत्ति जनाए। “एयरपोर्टबाट आउने धनीलाई ब्लु लेबल र ल्यापटप ल्याउन दिइन्छ, तर मधेशको सीमामा गरिब नागरिकले २५ रुपैयाँको चिप्स ल्याउँदा समेत खोसिन्छ,” उनले प्रश्न गरे, “कहाँबाट आउँछन् यी मान्छे र कहाँबाट आउँछ यो सोच?”

गाडीको कालो सिसा हट्यो, अब कालो चश्मा पनि हटाउनुपर्छ

राज्य सञ्चालकहरू जनतासँग सीधा जोडिनुपर्ने बताउँदै उनले सरकारको दृष्टि सफा हुनुपर्नेमा जोड दिए। “हामीले सवारी साधनको कालो सिसा र कालो स्टिकर त हटायौँ, अब सम्भवतः आँखाको कालो चश्मा पनि हटाउनुपर्छ, त्यो अति आवश्यक छ,” उनले भने।

यस्तै, निजी क्षेत्र हाल त्रसित अवस्थामा रहेको उल्लेख गर्दै प्रहरी वा राज्यका निकाय देख्दा नागरिक र उद्योगी-व्यवसायी डराउनुपर्ने वातावरण अन्त्य गरिनुपर्ने बताए। प्रवासमा रहेका नेपालीलाई विश्वासमा लिएर देशको विकासमा सहभागी गराउन र निजी क्षेत्रमा आत्मविश्वास जगाउन उनले सरकारसँग माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *