अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न तीन जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। काठमाडौं महानगरपालिका–१० बानेश्वरमा अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूको गतिविधिबारे अनुसन्धान गर्दा अनलाइन सट्टेबाजी र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले वान एक्सबेट प्रयोग गरी सट्टेबाजीमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको छ। साथै, युएसडीटीलगायत अभौतिक मुद्राको ७९ हजार ६८ दशमलव ६५ युएसडीटी बराबर अर्थात् १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।
उनीहरूको साथबाट १ हजार ५०१ युएसडीटी अर्थात् २ लाख २८ हजार ८३५ रुपैयाँ बराबरको अभौतिक मुद्रा मौज्दातसमेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल पनि बरामद गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३० वर्षीय नवीन पौडेल तथा सोही स्थानका १९ वर्षीय राहुल बेल्वासे र २८ वर्षीय रविन बेल्वासे रहेका छन्।
उनीहरूविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment