ट्रम्पका पूर्व निजी वकिल टोड ब्लान्च महान्यायाधिवक्ता नियुक्त

डिसी नेपाल
२३ साउन २०८३ १९:५६

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिल टोड ब्लान्चलाई अमेरिकाको नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको छ। उनी अमेरिकाको सर्वोच्च कानुन कार्यान्वयन अधिकारीका रूपमा काम गर्नेछन्।

ब्लान्चको नियुक्तिलाई अमेरिकी सिनेटले ५०–४९ मतले अनुमोदन गरेको हो। रिपब्लिकन सिनेटर सुसान कोलिन्स र लिसा मुर्कोव्स्कीले उनको नियुक्तिको विपक्षमा मतदान गरे। सिनेटर बिल क्यासिडीको मत भने निर्णायक बनेको थियो।

क्यासिडीले राष्ट्रपति ट्रम्पले अघि सार्न सक्ने विकल्पमध्ये ब्लान्च सबैभन्दा उपयुक्त व्यक्ति भएको आफूलाई लागेको बताएका छन्। ट्रम्प र रिपब्लिकन सिनेटर क्यासिडीबीच लामो समयदेखि मतभेद रहँदै आएकाले उनको निर्णयप्रति सबैको ध्यान थियो।

ब्लान्चको नियुक्तिसँगै रिपब्लिकन सिनेट सदस्य र ट्रम्प प्रशासनबीच लामो समयदेखि जारी गतिरोधसमेत अन्त्य भएको छ। उनी अप्रिलदेखि कार्यवाहक महान्यायाधिवक्ताका रूपमा कार्यरत थिए। डेमोक्रेटिक पार्टीका सबै सिनेटरले भने उनको नियुक्तिको विपक्षमा मतदान गरेका थिए।

ब्लान्चको नियुक्तिलाई लिएर केही रिपब्लिकन सिनेटरहरूले जेफ्री एप्स्टिनसँग सम्बन्धित दस्तावेज सार्वजनिक गर्ने उनको तरिका तथा ट्रम्पले प्रस्ताव गरेको १.८ अर्ब डलरको ‘एन्टी–वेपनाइजेसन’ कोष स्थापना गर्न उनले खेलेको भूमिकाप्रति चिन्ता व्यक्त गरेका थिए।

उक्त कोषमार्फत सरकारले आफूहरूलाई निसाना बनाएको आरोप लगाउने व्यक्तिहरूलाई क्षतिपूर्ति दिने योजना थियो। तर, लिसा मुर्कोव्स्कीसहित केही आलोचकले उक्त कोषको लाभ ६ जनवरी २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा मुद्दा खेपेका व्यक्तिले समेत पाउन सक्ने आशंका व्यक्त गरेका थिए।

सिनेटमा भएको सुनुवाइका क्रममा रिपब्लिकन सांसदहरूले आपत्ति जनाएपछि ब्लान्चले अन्ततः उक्त कोष फिर्ता लिने प्रतिबद्धता जनाएका थिए। रासस/एएफपी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *