स्तनपान कक्ष स्थापना गर्दै टेकुमा विश्व स्तनपान सप्ताह, स्तनपान प्रवर्द्धनमा जोड
काठमाडौं। जनस्वास्थ्य कार्यालय काठमाडौँले टेकुस्थित आफ्नै कार्यालयमा स्तनपान कक्ष स्थापना गर्दै यस वर्षको ‘विश्व स्तनपान सप्ताह’ सम्पन्न गरेको छ। ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मूल नाराका साथ साउन १६ देखि २२ (अगस्ट १-७) सम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइएको हो।
नवनिर्मित स्तनपान कक्षको प्रयोग जनस्वास्थ्य कार्यालयका कर्मचारीका साथै काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूले गर्न सक्ने जनाइएको छ।

सप्ताह समापनका अवसरमा शुक्रबार आयोजित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिला विक्रम थापाले सरकारले स्तनपान प्रवर्द्धनका लागि गरिरहेका प्रयासबारे जानकारी गराए। उनका अनुसार २०६९ सालदेखि थापाथलीस्थित प्रसूति गृहमा सञ्चालित ‘ब्रेस्ट मिल्क बैंक’ (मानव दुग्ध बैंक) यसै वर्षदेखि चितवनको भरतपुर अस्पतालमा पनि विस्तार गरिँदै छ।
सोही अवसरमा जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। स्तनपानमा गरिने खर्च वास्तवमा भविष्यका लागि लगानी भएको उल्लेख गर्दै उनले भने-
“सुनौलो हजार दिनका आमा र बच्चाको पोषणमा विशेष ध्यान दिन आवश्यक छ। स्तनपानले बच्चाको शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउनुका साथै भविष्यमा लाग्न सक्ने नसर्ने रोगहरूको जोखिमसमेत घटाउँछ।”
उच्च शिक्षा हासिल गरेका महिलाहरूले नै स्तनपान गराउनुको साटो दूधदानी (बोतल) प्रयोग गर्ने क्रम बढ्नु चिन्ताजनक रहेको उनको भनाइ थियो। कार्यालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने बजारुका वस्तुहरूको बिक्री-वितरणमा नियमित अनुगमन गरिरहेको पनि उहाँले जानकारी दिए।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सहसचिव विक्रम रत्नले जनस्वास्थ्य र स्तनपान प्रवर्द्धनका विषयमा सञ्चार माध्यमहरू संवेदनशील हुनुपर्नेमा जोड दिए। उनले यस्ता जनचेतनामूलक विषयमा महासंघले स्वास्थ्य निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment