‘बिग बोस’ फेम लोपामुद्रा राउतको घरमा ७६ लाखको चोरी गर्ने मुख्य अभियुक्त बिहारबाट पक्राउ

डिसी नेपाल
२५ साउन २०८३ १५:१९

मुम्बई ।’ब्युटी क्विन’ तथा चर्चित रियालिटी शो ‘बिग बोस’ फेम लोपामुद्रा राउतको मुम्बईस्थित सान्ताक्रुज घरमा भएको ठूलो चोरीको घटनामा पुलिसले सफलता हात पारेको छ। चोरीका मुख्य अभियुक्तलाई मुम्बई पुलिसले बिहारबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा २६ वर्षीय चन्दन कमलेश मुखिया रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार अभियुक्तको साथबाट चोरी भएका ७६ लाख भारतीय रुपैयाँ बराबरका गहना तथा नगद जफत गरिएको छ। अनुसन्धानका क्रममा अभियुक्तले चोरीको रकमबाट आफ्नी बहिनीको नाममा जग्गा किन्ने प्रयास गरिरहेको खुलेको छ।

लोपामुद्रा गत जुन २० देखि जुलाई २७ को बिचमा सहरबाहिर रहेका बेला अभियुक्तले उनको फ्ल्याटमा चोरी गरेको बताइएको छ। अभियुक्तले फ्ल्याटबाट नगद, सुनका गहना र सुनका बिस्कुटहरू चोरी गरेका थिए।

सान्ताक्रुज प्रहरी र स्थानीय अपराध अनुसन्धान शाखा (लोकल क्राइम ब्रान्च) को संयुक्त अपरेसनले सीसीटीभी फुटेजका आधारमा सुराकी पाएर चोरलाई बिहारबाट नियन्त्रणमा लिएको हो। प्रहरीले अभियुक्तलाई हिरासतमा राखेर बाँकी चोरी भएका सम्पत्तिहरू बरामद गर्न थप अनुसन्धान जारी राखेको छ।

लोपामुद्रा राउत एक अभिनेत्री तथा ‘ब्युटी पेजेन्ट’ विजेता हुन्। उनले सलमान खानद्वारा सञ्चालित चर्चित रियालिटी शो ‘बिग बोस’ बाट व्यापक पहिचान पाएकी थिइन्। यसका साथै उनी ‘खतरो के खिलाडी’ र केही वेब सिरिजहरूमा पनि देखिएकी छन्। हाल अभिनयमा धेरै सक्रिय नरहे पनि उनी सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरूसँग जोडिरहन्छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *