प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र फितलो कार्यसम्पादनलाई लिएर सांसद स्वाँरको आलोचना

डिसी नेपाल
२६ साउन २०८३ १३:५०

काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर कडा आलोचना गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए।

उनले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पुर्‍याएको उल्लेख गरे।

भारतले लिम्पियाधुरा, कालापानी र सुस्तालगायतका नेपाली भू-भाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। साथै, नयाँ जारी गरिएको चुच्चे नक्सा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।

भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिए। विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोपसमेत उनले लगाए।

सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उनले भने, “सभामुखले पटक-पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न। उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ? मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ। जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो।”

मुलुकको आर्थिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै उनले विद्युत् महसुलमा लगाइएको भ्याट, राहदानी र सवारी चालक अनुमति पत्र लिन जनताले भोग्नुपरेको सास्ती, तथा स्वास्थ्य बिमा प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले प्रधानमन्त्रीका कतिपय दाबीहरूको खण्डन गरेको उल्लेख गर्दै उनले सरकारका तथ्याङ्क र वास्तविकतामा ठुलो खाडल रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *