रास्वपा डोटीद्वारा विना निर्णय उम्मेदवारी घोषणा र प्रचार नगर्न निर्देशन
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति डोटीले पार्टीको आधिकारिक निर्णय र उम्मेदवारी घोषणा नभइकन विभिन्न पदका लागि प्रचारप्रसार नगर्न कडा निर्देशन जारी गरेको छ। जिल्ला सभापति केशव बलायरद्वारा जारी गरिएको परिपत्र तथा निर्देशनमार्फत यस्तो चेतावनी दिइएको हो।
पार्टीको निर्णय प्रक्रियाभन्दा बाहिर गएर केही व्यक्ति तथा समूहले आफूलाई विभिन्न स्थानीय तहका पदको उम्मेदवारका रूपमा प्रस्तुत गरी सामाजिक सञ्जालमा गरिरहेका सम्पूर्ण प्रचार-प्रसार, पोस्ट, ब्यानर, भिडियो र स्टाटसहरू तत्काल हटाउन निर्देशन दिइएको छ।
पार्टीको नाम, झण्डा, चुनाव चिह्न तथा प्रतिष्ठा प्रयोग गरी राजनीतिक भ्रम सिर्जना गर्ने कार्य सैह्य नहुने स्पष्ट पार्दै जिल्ला समितिले हालसम्म गरिएका यस्ता सम्पूर्ण सामग्रीहरू हटाउन भनिएको छ। साथै, पार्टीको आधिकारिक निर्णय नआएसम्म कुनै पनि पदमा उम्मेदवारी दाबी वा प्रचार-प्रसार नगर्न सम्पूर्ण सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।
परिपत्रमा सम्बन्धित वडा तथा पालिका समितिहरूलाई आफ्नो क्षेत्रभित्र त्यस्ता गतिविधिको निगरानी, समन्वय र नियन्त्रण गर्न जिम्मेवारी दिइएको छ। यदि निर्देशनविपरीत कुनै गतिविधि भएमा प्रमाणसहित जिल्ला समितिलाई तत्काल जानकारी गराउन भनिएको छ।
‘पार्टीको उम्मेदवार व्यक्ति आफैँले घोषणा गर्ने होइन, पार्टीको विधि र आधिकारिक निर्णयबाट तय हुने हो,’ परिपत्रमा भनिएको छ, ‘पार्टीको विधि, विधान, अनुशासन र निर्णय प्रक्रियालाई चुनौती दिने गतिविधि प्रमाणित भएमा सम्बन्धित व्यक्तिमाथि आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइनेछ।’
रास्वपा डोटीले ‘व्यक्तिगत प्रचार होइन-पार्टीको निर्णय’, ‘व्यक्ति होइन विधि सर्वोपरि’ र ‘अनुशासनमा कुनै सम्झौता हुँदैन’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै अघि बढ्न समेत सबैमा अपिल गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment