लाल सागरमा हुथीको आक्रमण: तीन पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानद्वारा कडा निन्दा
काठमाडौं । यमनका हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एउटा व्यापारिक जहाजमाथि गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। सो आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इसहाक दारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत एक पोस्ट गर्दै उक्त आक्रमणको भर्त्सना गरेका हुन्।
उनले दिएको जानकारीअनुसार आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
“यस्ता प्रकारका आक्रमणहरूले निर्दोष मानिसहरूको ज्यान जोखिममा पार्नुका साथै अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गर्छन्,” उपप्रधानमन्त्री दारले भनेका छन्, “यसका साथै यसले रातो सागरमा निर्वाध जलपोत आवागमन (नौवहनको स्वतन्त्रता), समुद्री सुरक्षा र व्यापारिक जहाजहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको छ।”
घटनाको पूर्ण विवरण र परिस्थितिको वस्तुस्थिति पत्ता लगाउनका लागि पाकिस्तान सरकार साउदी अधिकारीहरू तथा यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारसँग निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन्।
इसहाक दारले साउदी अरबको रियादस्थित पाकिस्तानी दूतावासलाई सम्बन्धित निकायहरूसँग तत्काल सम्पर्क समन्वय गरी आवश्यक कदम चाल्न निर्देशनसमेत दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment