एनसेलद्वारा तीन प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द

डिसी नेपाल
३१ साउन २०८३ १५:०५

काठमाडौं। एनसेलले फोरजी नेटवर्कलाई थप सुदृढ र विस्तार गर्ने योजनाअनुसार आगामी भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा थ्रीजी सेवा बन्द गर्ने भएको छ।

नयाँ प्रविधिमा स्तरोन्नति गर्दै भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन (भोल्टे) सेवालाई बढावा दिन कम्पनीले २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा हटाएर उक्त फ्रिक्वेन्सी फोरजीका लागि प्रयोग गर्न लागेको हो। यस प्रक्रियाअन्तर्गत गण्डकीका गोरखा र लमजुङ, लुम्बिनीका बर्दिया र पाल्पा तथा सुदूरपश्चिमको कैलालीका विभिन्न स्थानीय तहहरूमा थ्रीजी सेवा पूर्ण रूपमा बन्द हुनेछ।

भाद्र १ गतेदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा, धार्चे तथा लमजुङका मर्स्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीसहरमा थ्रीजी सेवा बन्द हुनेछ।

त्यसैगरी बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया, गेरुवा, पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा, पूर्वखोला तथा कैलालीका टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरमा पनि यो सेवा बन्द हुने कम्पनीले जनाएको छ। एनसेलले यसअघि गत माघ र असारमा पनि विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गरिसकेको छ भने सन् २०२७ को पहिलो त्रैमासिकसम्म देशभरबाटै थ्रीजी पूर्ण रूपमा हटाउने लक्ष्य राखेको छ।

सेवा बन्द हुने भएपछि एनसेलले सम्बन्धित क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन आग्रह गरेको छ। फोरजी र भोल्टे सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिम वा ई-सिम आवश्यक पर्नेछ।

ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गरेर वा *१२३*११# डायल गरी यो सेवा सक्रिय गर्न सक्नेछन्। भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल र छिटो फोन सम्पर्क स्थापित हुने तथा भ्वाइस कलसँगै फोरजी डेटा पनि सोही शुल्कमा प्रयोग गर्न सकिने एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले जानकारी दिएकी छन्। हाल एनसेलको फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसङ्ख्यासम्म पुगिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *