बाढी पीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा

डिसी नेपाल
१५ असोज २०७६ २०:१८

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन्।

सङ्घीय सरकारका तर्फबाट दुई लाख बाढी पीडितलाई आज प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताइन्।

मन्त्री थापाले बाढीका कारण घरवारविहीन भएका सात घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुनर्वासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिइन्।

बाढीका कारण विस्थापित भएका सात घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरी ज्वाइँकामा बसेका छन्। असोज ४ गते राति कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिकाको मृत्यु भएको थियो।

एक बालिकाको शव प्राप्त भएको र एक बालिका अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए। बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *