अण्डाको मूल्यमा नयाँ रेकर्ड: उत्पादन घटेपछि हालसम्मकै उच्च विन्दुमा पुग्यो भाउ

डिसी नेपाल
७ भदौ २०८३ ९:४२

काठमाडौं। बजारमा अण्डाको उत्पादन घटेसँगै यसको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। बर्डफ्लुको प्रकोप, अत्यधिक गर्मी र उत्पादन लागतमा भएको भारी वृद्धिका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार विगत एक महिनाको अवधिमा मात्रै अण्डाको भाउ प्रतिक्रेट ७५ रुपैयाँसम्मले बढेको छ। संघका सचिव मदन पोखरेलका अनुसार हाल बजारमा एक्सएल साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ। यसैगरी ठूलो अण्डाको ५ सय ७५ रुपैयाँ, मिडियम अण्डाको ५ सय २० रुपैयाँ र सानो अण्डाको मूल्य ४ सय ४८ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि नेपालमा अण्डाको भाउ कहिल्यै पनि प्रतिक्रेट ५ सय ७० रुपैयाँभन्दा माथि गएको थिएन।

उत्पादनमा आएको भारी गिरावट नै मूल्य वृद्धिको मुख्य कारण बनेको छ। पहिले दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २२ हजार कार्टुनमा मात्र सीमित भएको छ। चल्लाको तीव्र अभाव, अधिकांश ह्याचरी उद्योगहरू बन्द हुनु र बर्डफ्लुको जोखिमका कारण किसानहरूले नयाँ कुखुरा राख्न नपाएपछि समग्र उत्पादन प्रभावित बन्न पुगेको हो।

नेपाल ह्याचरी उद्योग संघका महासचिव नवराज पौडेलले दिएको जानकारी अनुसार दुई वर्षअघिसम्म देशमा ३५४ वटा ह्याचरी उद्योगहरू सञ्चालनमा रहेका थिए। तर, विभिन्न कारणले गर्दा अहिले ती घटेर ११० वटामा मात्र सीमित भएका छन्। यसले गर्दा आगामी दिनमा पनि कुखुरा पालन व्यवसाय र अण्डाको आपूर्ति सहज हुन थप समय लाग्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *