पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

डिसी नेपाल
७ भदौ २०८३ २०:५६

पर्वत। पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका-१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आज दिउँसो फलेवास-१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका-१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए।

“दुर्घटनामा चार जना घाइते भएका छन्। बिहादी-१ की २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ। उहाँको अवस्था मध्यम छ। पन्ध्र वर्षीया अञ्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ”, उनले भने।

अटो चालक फलेवास नगरपालिका-११ पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको प्रहरी निरीक्षक पटेलले बताए। उहाँका अनुसार घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरी निरीक्षक पटेलले ओरालो बाटोमा ब्रेक नलागेकाले चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *