शिखण्डी लोकार्पण
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा महभारतका पात्र शिखण्डीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास शिखण्डीको लोकार्पण गरिएको छ।
संविधान सभा सदस्य सुनिल बाबु पन्तको प्रमुख आतिथ्यतामा भुवनहरि सिग्देल, अनुपम रोशी, श्रीओम रोदन श्रेष्ठ, लेखककी माता, लेखक सुशील रिजाल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
किताबमाथि समीक्षा गर्दै आख्यानकार भुवनहरि सिग्देलले किताब पौराणिक पात्रलाई लेखिएको भए पनि यसमा धेरै नयाँ र रोचक कुराहरू समावेश भएकोले उपन्यास नपढ्नेलाई पछुतो हुने बताए।
आख्यानकार अनुपम रोशीले महाभारत आफूलाई मनपर्ने विषय भएको र शिखण्डी पात्र आफैँमा महत्वपूर्ण रहेकोले आफूलाई उपन्यासले आकर्षण गरेको, छोरी जन्मिएपछि छोराको रूपमा पालनपोषण गरेर केटीसित नै विवाह गरिदिएको र सुहागरात प्रसङ्गलगायत विषयले उपन्यासलाई रोमाञ्चित बनाएको बताइन्। तात्कालीन समयमा लिङ्ग परिवर्तन विषय पनि रोचक रूपमा प्रस्तुत गरेको छ।
वरिष्ठ साहित्यकार श्रीओम रोदनले अब पुरानो विषयमा अध्ययन गर्ने र पढ्ने संख्या बढ्नुमा शिखण्डी जस्तो उपन्यासको योगदान हुने बताए। प्रमुख अतिथि पन्तले महाभारतको बेलादेखि नै तेस्रो लिङ्गीको अपमान र दुव्र्यवहार भएको, महिला पुरुषको रूपमा २ वटा लिङ्ग नभए पूलिङ्गी मानव रहेको बताए। उपन्यास आफूलाई मन परेको र सबै सबैलाई पढ्न पनि अनुरोध गरे।
लेखक सुशील रिजालले आफू समाजशास्त्रको विद्यार्थी भएकोले सामाजिक विषयको अनुसन्धान गर्दै गर्दा शिखण्डीको विषयमा उपन्यास लेखेको बताए।
रूपक अलङ्कारले सञ्चालन गर्नुभएको कार्यक्रम पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो। शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मूल्य ५९५ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment