व्यावसायिक कृषि र पशुपालनतर्फ चिसापानीका युवाहरू

डिसी नेपाल
८ भदौ २०८३ १२:०४

रामेछाप । धेरै युवाहरू कामको खोजीमा बिदेसिने क्रम चलिरहेको बेला रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका केही युवाहरू भने व्यावसायिक रूपमा कृषि तथा पशबुपालन तर्फ लागेका छन् ।

गाउँमै केही गर्ने सोचका साथ युवाहरूले भैँसीपालन, दूध सङ्कलन तथा वितरण केन्द्र, तराकारी तथा खुर्सानी खेती, व्यावसायिक फूल खेती लगायतका काम सुरु गरेका छन् ।

गाउँमा भैँसीपालन सुरु भए पछि उत्पादित दूध बिक्रीको लागि गाउँमा नै दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको दूध सहकारी मार्फत सञ्चालन भएको सो सङ्कलन केन्द्रमा बिक्री हुन्छ ।

एक जना किसानले दूध बेचेर ३० हजार रुपैँयासम्म कमाउने गरेको चिस्यान केन्द्रका प्रबन्धक श्याम श्रेष्ठले बताए ।

सहरीले सङ्कलन गरेको दूध गाउँमा खपत हुने जति गाउँमा नै बिक्री गर्दछ । गाउँमा बिक्री नहुने दूध सदरमुकाम मन्थलीको दूध डेरीमा पठाउने गरेको छ । यसबाट एकातिर किसानले उत्पादन गरेको दूध बिक्री भएको छ भने सहकारीमा काम गर्नेको पनि रोजगारी भएको छ ।

त्यस्तै कतिपय किसानले खुर्सानी, गोलभेँडा लगायतको खेती सुरु गरेका छन् । जसले गर्दा वर्षमा दुई÷चार लाख कमाउनको लागि बाहिर जानु पर्ने बाध्यता हटेको छ ।

बजारमा फूलको राम्रो माग देखिए पछि केही किसानले व्यावसायिक रूपमा फूल खेती सुरु गरेका छन् । मन्थली बजारमा नै माग अनुसारको फूल उपलब्ध नहुने भएकोले फूलबाट राम्रो आम्दानी हुने विश्वास किसानको छ । ठुलो परिमाणमा उत्पादन गर्न सके उनीहरूको लागि काठमाडौंको बजार पनि छ ।

आफूले भैँसीपालन र गोलभेँडा खेती गर्दै आएकोमा यस वर्षबाट सयपत्री फूलको खेती सुरु गरेको स्थानीय समिल कर्माचार्य बताउँछन् । फूलले राम्रो बजार पायो भने बाँदरले पनि दुःख नदिने भएकोले ठुलो स्केलमा फूल खेती गर्ने सोच उनले सुनाए ।

गाउँमा बसेर केही गरौँ भन्ने युवालाई व्यावसायिक बनाउन वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । किसानलाई व्यावसायिक बनाउन सहयोग, अनुदान र बजारीकरणको लागि सहयोग गर्दै आएको उनले बताए ।

‘वडाको स्रोत र साधनले भ्याएसम्म हामीले सबै सहयोग गरेका छौँ, प्लाष्टिक टनेल, बिउबिजन, भैँसी खरिदका लागि अनुदान लगायतका कर्यक्रम सञ्चालन गरेका छौँ, यसले किसानलाई व्यावसायिक बन्न केही न केही सहयोग गरेकै छ’, उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *