मुख्यमन्त्री थापालाई विश्वासको मत दिने असन्तुष्ट नेकपा सांसदहरूको निर्णय, प्रचण्डसँगको वार्तापछि मिल्यो विवाद
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार दिउँसो भएको भेटवार्तापछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएका हुन्।
यसअघि असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता सहकार्य गरेको तथा नेकपा र नेकपा एमालेबीच भएको पाँचबुँदे निर्देशन अनुसार मन्त्रालयको भागबन्डा नभएको विषयमा तीब्र असन्तुष्टि व्यक्त गरेका थिए। तर, सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले औपचारिक निर्णय गर्ने सहमति भएपछि हाललाई मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णयमा पुगेको सांसद गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन्।
भेटघाटबारे प्रस्ट पार्दै सांसद श्रेष्ठले भने, ‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा संयोजक प्रचण्डसँग वैचारिक र राजनीतिक संवाद भयो । यस विषयमा केन्द्रीय संयोजन समिति बैठकले निर्णय गर्छ । बैठकले सहमति सही थियो भने ठिकै छ, ठिक थिएन भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । उहाँले अहिले विश्वासको मत दिनोस्, बाँकी विषय बैठकमा छलफल गरौँला भन्नुभयो ।’
केन्द्रले गरेका केही राजनीतिक निर्णयप्रति नेकपा केन्द्रीय संयोजन समितिका सदस्यसमेत रहेका श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका थिए। असन्तुष्ट पक्षका यी सांसदहरूमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक नेकपा (एकीकृत समाजवादी) तर्फका हुन् भने बाँकी सबै माओवादी केन्द्रका सांसद हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment