पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ तीर्थयात्री सम्पर्कविहीन, ६ जना हामफालेर बचे

डिसी नेपाल
१० भदौ २०८३ २०:१६

गोरखा। गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना यात्रु सम्पर्कविहीन भएका छन्।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्डतर्फ गएका यात्रुहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएका हुन्। भोटेकोशी नदीमा आएको भीषण बाढीको घटना भएपछि उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्।

उनका अनुसार पालुङटारबाट दुईवटा माइक्रोबस र एउटा बसमा तीर्थयात्रीहरू गोसाइँकुण्डतर्फ गएका थिए। दुईवटा माइक्रोबसमा रहेका यात्रुहरू भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। तर बसमा सवार ३७ जनामध्ये ६ जनाले बाढीको जोखिमबाट जोगिन बसबाट हामफालेर सुरक्षित भएको जानकारी गराएका छन्। बाँकी ३१ जनाको अवस्था भने अझै अज्ञात रहेको पाण्डेले बताइन्।

पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना यात्रु सम्पर्कविहीन भएको जानकारी आफूले पनि प्राप्त गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए। उनका अनुसार बसमा ३७ जना यात्रु सवार थिए।

“३७ जना सवार रहेको बसबाट छ जना हामफालेर बचेको र बाँकीको अवस्था अज्ञात छ,” प्रजिअ श्रेष्ठले भने, “उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरेर काम भइरहेको छ।”

बुधबार बिहान करिब ९ बजे तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण विभिन्न स्थानमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।

सम्पर्कविहीन यात्रुहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *