भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए।
सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन्।
यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ।
नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment