रसुवा बाढी अपडेट: नेपाली सेनाद्वारा उद्धार र राहत कार्य तीव्र, हालसम्म १७७ जनाको सफल उद्धार
रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहत वितरण कार्य अगाडि बढेको छ। २०८३ भाद्र ११ गते बिहान ८ बजेसम्मको पछिल्लो अपडेट अनुसार, नेपाली सेनाले ५ वटा हेलिकप्टरको प्रयोग गर्दै हवाई तथा जमिनी माध्यमबाट उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत जम्मा ११४ जनाको सफल उद्धार गरेको छ। जसमा भाद्र १० गते ९७ जनाको उद्धार गरिएको थियो भने आज बिहान मात्रै मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जना गरी थप १७ जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसका साथै जमिनी मार्गबाट ६३ जनाको सकुशल उद्धार गरिएको छ। नागरिकको ज्यान बचाउन रातभरि निरन्तर रूपमा खटिएका नेपाली सेनाका ११ वटा विशेष टिमले जोखिम मोलेर जमिनी उद्धारका कार्यहरू गरेका थिए।
बाढीको प्रभाव रसुवामा मात्र सीमित नभई तल्लो तटीय क्षेत्रमा पनि परेको हुनाले नुवाकोटदेखि चितवनसम्मको क्षेत्रमा खोज तथा उद्धारका लागि २ हजारभन्दा बढी सैनिक फौज खटाइएको छ। यस फौजले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको छ।
प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनाका ११ वटा ट्रकले त्रिशुलीसम्म राहत सामग्री ढुवानी गरेका छन्। त्रिशुलीबाट हवाई साधनको प्रयोग गरी आवश्यकताको आधारमा विभिन्न अति प्रभावित स्थानहरूमा ती सामग्री पुर्याउने कार्य भइरहेको छ। प्राप्त जानकारी अनुसार हालसम्म टिमुरे क्षेत्रमा मात्रै ४ सटल राहत सामग्री पुगिसकेको छ।
उद्धार र राहतसँगै घाइतेहरूको स्वास्थ्य उपचारलाई पनि सेनाले उच्च प्राथमिकतामा राखेको छ। त्रिशुलीमा थप मेडिकल टिम परिचालन गरी घाइतेहरूको उपचारको कार्य तीव्र रूपमा भइरहेको छ। सेनाले अवस्थालाई नियन्त्रणमा लिन र सबै प्रभावितहरूलाई सुरक्षित स्थानमा पुर्याउन आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment