रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

डिसी नेपाल
११ भदौ २०८३ १५:२७

काठमाडौं। रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न गठन गरिएका टोलीमा आपत्कालीन सञ्चार पुनःस्थापना, विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर, खोज तथा उद्धार, आपत्कालीन स्वास्थ्य तथा मेडिकल प्रतिकार्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता तथा दातृ समन्वय, यातायात तथा सडक सम्पर्क, शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन, बेपत्ता व्यक्ति तथा परिवार सहायता, राहत तथा खाद्य–पानी आपूर्ति र विमानस्थल समन्वय टोली रहेका छन्। साथै उद्धार गरिएका बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्न छुट्टै टोली परिचालन गरिएको छ।

सञ्चार पुनःस्थापना टोलीले प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गराउने, विद्युत् टोलीले अवरुद्ध विद्युत् आपूर्ति पुनःस्थापना तथा वैकल्पिक विद्युत् व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ। खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धार सञ्चालन गर्ने र हेलिकोप्टर उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछ।

त्यस्तै, स्वास्थ्य तथा मेडिकल टोलीले घाइतेको तत्काल उपचार, शव व्यवस्थापन टोलीले मृतकको पहिचान तथा व्यवस्थापन र राहत टोलीले प्रभावितलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति गर्ने जिम्मेवारी पाएको छ।

यातायात तथा सडक सम्पर्क टोलीले अवरुद्ध सडक खुलाउने, तत्काल बेलिब्रिज व्यवस्थापन तथा नियमित यातायात सञ्चालनका लागि समन्वय गर्नेछ। शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन टोलीले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी आवश्यकताका आधारमा प्रतिकार्य योजना बनाउन सहयोग गर्नेछ।

सरकारले बेपत्ता व्यक्ति तथा परिवार सहायता टोलीमार्फत हराइरहेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिने तथा उद्धार गरिएका बेपत्ता र मृतकको नाम सार्वजनिक गर्ने व्यवस्था गरेको छ। विमानस्थल समन्वय टोलीले हेलिकोप्टर उद्धारका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *