भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं। विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूली नदीमा जलसतह बढिरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खोज, उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। उनका अनुसार रसुवामा बाढीसम्बन्धी सूचना तत्काल संकलन गरी निरन्तर रूपमा तल्लो तटीय क्षेत्रमा पुर्याउनु आवश्यक छ।
उपाध्यायका अनुसार पछिल्लो नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएको छ। यसका कारण धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदी क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको उनले बताए।
उनले हिमपहिरो खसेर बनेका ताल तथा त्यसमा मिसिने खोल्साहरू लगातारको वर्षाका कारण भरिन सक्ने र अचानक बग्न सक्ने भएकाले बाढीको जोखिम समय–समयमा बढ्ने गरेको स्पष्ट पारे।
“सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ। रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पुर्याउनु पनि उत्तिकै आवश्यक छ,” उपाध्यायले भने।
उनले भोटेकोशी, त्रिशूली तथा बूढीगण्डकी नदी आसपासका बस्तीका नागरिकलाई नदीको जलसतहमा हुने परिवर्तनप्रति सचेत रहन र जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
लगातारको वर्षा र माथिल्लो क्षेत्रमा बनेका ताल तथा खोल्सामा पानीको मात्रा बढ्दा अचानक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment