नुवाकोटमा बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदीपारिका क्षेत्रमा वितरण चुनौती
नुवाकोट। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत सामग्री वितरण गर्न थालेको छ। दाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्री एकीकृत रूपमा सङ्कलन गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ।
नुवाकोटमा हाल १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी प्रभावितलाई वितरण गर्न दाता तथा इच्छुक व्यक्ति तथा संस्थाले उपलब्ध गराएका राहत सामग्री एकद्वार प्रणालीमार्फत समितिले सङ्कलन गरिरहेको छ।
उनले भने, “बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गरिरहेका छौँ। आवश्यकताका आधारमा ती सामग्री होल्डिङ सेन्टरमा पठाइरहेका छौँ।”
सडक तथा सवारीसाधन पुग्न नसक्ने स्थानमा भने हेलिकप्टरमार्फत राहत सामग्री पठाउने गरिएको छ।
स्थानीय तहले होल्डिङ सेन्टरमा आश्रय लिएका बाढीपीडितका लागि खाना र बसोबासको व्यवस्था मिलाउन सहजीकरण गरिरहेका छन्। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार प्रत्येक होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण तथा परिवारसँग पुनर्मिलन गराउने व्यवस्था पनि गरिएको छ।
उनले भने, “प्रत्येक होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएका छौँ। बाढीबाट पुगेको जनधनको क्षतिको विवरण सङ्कलनसँगै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ।”
सहज पहुँच भएका स्थानमा बढी राहत
राहत वितरणलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने भनिए पनि केही दाता तथा व्यक्तिले सहजै पुग्न सकिने होल्डिङ सेन्टरमा पुगेर प्रत्यक्ष राहत सामग्री वितरण गरिरहेका छन्। यसले गर्दा सबै होल्डिङ सेन्टरमा समान रूपमा राहत सामग्री पुग्न नसकेको स्थानीयको गुनासो छ।
विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले आफ्नो क्षेत्रमा तत्कालका लागि पर्याप्त राहत सामग्री आइसकेकाले अन्य प्रभावित क्षेत्रमा समेत राहत सामग्री पठाउन दाताहरूलाई आग्रह गरिएको बताए।
“यहाँ तत्कालका लागि पर्याप्त राहत सामग्री उपलब्ध भइसकेको छ। यहाँ मात्र नभई अन्यत्र पनि राहत सामग्री लैजान हामीले अनुरोध गरेका छौँ,” उनले भने।
हाल होल्डिङ सेन्टरहरूमा चामल, दाल, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री बढी प्राप्त भइरहेको छ। खाद्य सामग्रीको तुलनामा लत्ताकपडाको सहयोग भने कम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
नुवाकोटका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये विदुर नगरपालिकाका बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर र देवीघाट छन्। किस्पाङ गाउँपालिकाका शान्तिबजार, नयाँ पुल र मैलुङ क्षेत्रका बस्ती पनि बाढीबाट प्रभावित भएका छन्।
त्यस्तै, बेलकोटगढी नगरपालिकाका ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटार क्षेत्र प्रभावित छन्। सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानको खोजीमा आएका नागरिकलाई आश्रय दिइएको छ।
नदीपारिका क्षेत्रमा राहत पुर्याउन कठिन
सदरमुकाम विदुर आसपासका क्षेत्रमा राहत वितरण तुलनात्मक रूपमा सहज भए पनि त्रिशूली नदीपारिका बस्तीमा राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ।
केही संस्थाले ड्रोनमार्फत समेत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याउने प्रयास गरिरहेका छन्। विदुर नगरपालिकाका वडा नं. १, ३, ६, ७, ९ र १२ अन्तर्गतका नदीपारिका बस्तीहरू यस समस्याबाट बढी प्रभावित छन्।
वडा नं. १ को त्रिशूली बजार, वडा नं. ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, वडा नं. ६ को चैनपुर आसपास, वडा नं. ७ का तुप्चेका बस्ती, वडा नं. ९ को सिलट्याङ्की क्षेत्र तथा वडा नं. १२ का चारघरेलगायत स्थानमा राहत पुर्याउन कठिनाइ भइरहेको छ।
सदरमुकाम विदुरबाट त्रिशूली नदीपारि सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्। तादी र कोल्पुखोलाको पुल बाढीले बगाएपछि बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरसम्म समेत राहत सामग्री पुर्याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ।
शनिबार जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा स्थानीयले नदीपारिका क्षेत्रमा राहत वितरणलाई प्राथमिकता दिन सङ्घीय सरकारसँग आग्रह गरेका थिए।
बाढीका कारण पुल तथा आवतजावतका संरचना बगाएपछि वारि–पारिका विद्यालयमा अध्ययन गर्ने बालबालिका समेत समस्यामा परेका छन्। पुल बगेपछि विद्यालय गएका केही बालबालिका चार दिनसम्म परिवारसँग पुनर्मिलन हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन्।
होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा
बाढीपीडितलाई लक्षित गरी होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। त्रिशूली अस्पतालसँगको यातायात सम्पर्कसमेत प्रभावित भएको अवस्थामा पीडितको शारीरिक स्वास्थ्यसँगै मानसिक अवस्थालाई समेत ध्यानमा राखेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो।
बाढीका कारण विस्थापित तथा आफन्तसँग सम्पर्कविहीन भएका नागरिकलाई सुरक्षित आश्रय, स्वास्थ्य परीक्षण र परिवारसँग पुनर्मिलन गराउने कामलाई पनि प्राथमिकता दिइएको छ।
८२१ जना बेपत्ता भएको निवेदन
नुवाकोटमा बाढीबाट मृत्यु तथा बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क अझै सङ्कलन हुन सकेको छैन। पहिचान हुन नसकेका शव व्यवस्थापनका विषयमा समेत शनिबार जिल्लाका सरोकारवालाबीच छलफल भएको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा करिब तीन सय शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिपीन रेग्मीका अनुसार शनिबारसम्म बाढीमा परी ८२१ जना बेपत्ता भएको निवेदन प्राप्त भएको छ। प्रहरीले प्राप्त निवेदन तथा सूचनाका आधारमा बेपत्ताको विवरण सङ्कलन र खोजी कार्य अघि बढाइरहेको छ।
यसैबीच, आइतबार बिहान पुनः त्रिशूली नदीको जलसतह बढेपछि नदी किनारमा भेटिएका तथा रहेका शव व्यवस्थापनमा थप चुनौती देखिएको छ। लगातारको पानी र नदीको बहाव बढ्दा खोज तथा शव व्यवस्थापनको काम प्रभावित भइरहेको छ।
बाढीपछि विस्थापित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत वितरण, स्वास्थ्य सेवा, सुरक्षित आश्रय र बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेर स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहले संयुक्त रूपमा काम गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment