रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए
थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। यहाँ एक महिलामाथि कथित रूपमा बिल नतिरी बारबाट उम्किन खोजेको आरोप लागेको छ। महिलाको बिल करिब ६० हजार भाट (लगभग २ लाख ७० हजार रूपैयाँ) पुगेको थियो। उनले उक्त रकम भुक्तानी गर्न नसकेपछि बारका कर्मचारीहरूले उनको टाउकोको कपाल नै खौरिदिएका छन्। यस सम्पूर्ण घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसले ठूलो बहस सिर्जना गरेको छ।
यो घटना बैंककको पिङक्लाओ क्षेत्रको भएको जनाइएको छ। न्युयोर्क पोस्टको रिपोर्ट अनुसार ती महिलामाथि यसअघि पनि विभिन्न क्लब र रेस्टुरेन्टहरूमा बिल नतिरी भाग्न खोजेको आरोप लागिसकेको छ। गत अगस्ट २५ मा उनी कथित रूपमा नक्कली परिचयपत्र (फर्जी आईडी) प्रयोग गरी एक प्रसिद्ध बारमा प्रवेश गरेकी थिइन्।
बारमा महिलाले खाना र पेय पदार्थ उपभोग गरेपछि उनको बिल करिब ६० हजार भाट पुगेको थियो। बिल नतिरी उनी बारबाट बाहिरिन खोजेपछि कर्मचारीहरूले उनलाई नियन्त्रणमा लिएर रकम भुक्तानी गर्न भनेका थिए। तर, महिलासँग बिल तिर्ने पैसा थिएन। त्यसपछि यो मामला प्रहरीसम्म पुग्नुको सट्टा एउटा अनौठो र अस्वाभाविक सम्झौतामा परिणत भयो।
भिडियोमा महिला स्ट्र्यापलेस सेतो पोसाकमा देखिएकी छन्। उनले आफ्नो कपालको बदलामा बिल फर्छ्योट गर्ने भनिएको एक कथित ‘हेयर पर्चेज कन्ट्र्याक्ट’ (कपाल खरिद सम्झौता) मा सहमति जनाएको बताइएको छ।
भिडियोमा क्यामेराको पछाडिबाट एक व्यक्तिले महिलालाई यसो भनिरहेको सुनिन्छ, “म तिम्रो फाइदा उठाइरहेको छैन। यो बजारको दर हो। म यसलाई तिम्रो बिलमा जोड्दै छु। यसमा केही अरू पनि थप्दै छु, ठीक छ ?” त्यसपछि एक बारटेन्डरले इलेक्ट्रिक रेजर प्रयोग गरी महिलाको काँधसम्म आउने बाक्लो कपाल काट्न सुरु गर्छन्। हेर्दाहेर्दै उनको टाउकोको लगभग सबै कपाल खौरिइन्छ। रिपोर्ट अनुसार काटिएको उक्त कपाल कथित रूपमा दान गरिने भनिएको थियो।
यस घटनाको भिडियो सार्वजनिक भएपछि मानिसहरूले प्रश्न उठाइरहेका छन्—यदि कुनै व्यक्तिसँग बिल तिर्ने पैसा छैन भने के उनीसँग यस्तो अमानवीय व्यवहार गर्न मिल्छ ?
थाइल्यान्डको गैरसरकारी संस्था ‘बी वन फाउन्डेसन’ की संस्थापक चालिदाले पनि बारको यस कदमको कडा आलोचना गरेकी छन्। उनले बार प्रशासनले आफ्नो सीमा नाघेको बताइन्। चालिदाका अनुसार बारका प्रतिनिधिहरूले उनीसँग सम्पर्क गरी माफी मागेका छन् र म्यानेजरले रिसको झोकमा आएर यस्तो कदम उठाएको स्वीकार गरेका छन्। उनले बार व्यवस्थापनले महिलाको परिवारसँग सम्पर्क गरी क्षतिपूर्तिबारे छलफल गर्न लागेको पनि जानकारी दिइन्।
चालिदाले बार सञ्चालकहरूको स्थिति आफूले बुझेको र व्यवसायमा घाटा हुनबाट जोगिनु महत्त्वपूर्ण भएको स्वीकार गरिन्। तर, जसरी यो मामला सुल्झाउन खोजियो, त्यो कानुनसम्मत नभएको उनको भनाइ छ।
उनका अनुसार दबाबमा गराइएको ‘हेयर पर्चेज कन्ट्र्याक्ट’ गैरकानुनी र अमान्य हुन सक्छ। यसका अलावा कसैको इच्छाविपरीत कपाल काटिदिनु वा नियन्त्रणमा राख्नु कुटपिट, जबर्जस्ती र गैरकानुनी हिरासतजस्ता आपराधिक मामलाभित्र पर्न सक्छ।
चालिदाले यस घटनाको निष्पक्ष छानबिनका लागि थाइल्यान्डको सामाजिक विकास तथा मानव सुरक्षा मन्त्रालयसँग सम्पर्क गरिएको बताएकी छन्। उनले व्यवसायीहरूलाई कानुन आफ्नो हातमा लिनुको सट्टा कानुनी प्रक्रियाको पालना गर्न आग्रह गरिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment