संकटमा आँसु र विलाप होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ: प्रधानमन्त्री शाह

डिसी नेपाल
१७ भदौ २०८३ १३:४२

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यो कठिन घडीमा सरकार दृढतापूर्वक उद्धार तथा पुनर्स्थापनामा लागिरहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय एवम् भौतिक क्षति र सरकारले गरिरहेका कामकारबाहीबारे संसद्लाई विस्तृत जानकारी गराएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

“भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो। यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो,” उनले भने।

संकटको समयमा देशको नेतृत्वले निराशा होइन, जनतालाई भरोसा दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले अहिले विलाप गर्ने वा थाकेर विश्राम लिने समय नरहेको बताए।

“शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ भन्ने यथार्थलाई स्वीकार गरेका छौँ। त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन, हामी लडिरहेका छौँ,” उनले थपे।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि तत्कालै राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गरिएको जानकारी गराए।

प्रभावित नागरिकको उद्धार, राहत वितरणका साथै अवरुद्ध बनेका सडक र सञ्चार सेवा पुनः सञ्चालन गर्न प्राथमिकताका साथ काम भइरहेको र मानवीय क्षति एवम् भौतिक क्षतिको अन्तिम विवरण संकलन भइरहेको उनले संसद्लाई अवगत गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *