भोटेकोशी बाढीपीडितको राहतका लागि एभरेस्ट बैंकद्वारा ३ करोड ११ लाखभन्दा बढी सहयोग
काठमाडौं। एभरेस्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नगद तथा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीका तर्फबाट सङ्कलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरी नगद सहयोग उपलब्ध गराएको छ।
नगद सहयोगका अतिरिक्त एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा सङ्कलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।
बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघ-संस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति बैंकले आभार व्यक्त गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment