इमरान हाश्मीसँगको केमेस्ट्रीबारे तनुश्री दत्ताको पुरानो अन्तर्वार्ता पुनः भाइरल

डिसी नेपाल
१७ भदौ २०८३ १६:५०

काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्ता विगत कैयौँ वर्षदेखि फिल्म उद्योगबाट टाढा भए तापनि उनले आफ्नो पहिलो फिल्ममै बोल्ड तथा चुम्बन (किसिङ) दृश्य दिएर हलचल मचाएकी थिइन्।

तनुश्रीले २१ वर्षअघि इमरान हाश्मीसँग फिल्म ‘आशिक बनाया आपने’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। यस फिल्ममा यी दुईबीच कैयौँ अन्तरङ्ग र चुम्बनका दृश्यहरू थिए।

यसैबीच, तनुश्रीले एक पुरानो अन्तर्वार्तामा इमरान हाश्मीसँग फिल्ममा काम गर्दाको आफ्नो अनुभवबारे कुराकानी गरेकी थिइन्। उनको सोही पुरानो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेको छ।

इमरान हाश्मीसँग काम गर्दाको अनुभवबारे तनुश्रीले भनेकी थिइन्, “मेरो र इमरानको बीचमा कुनै व्यक्तिगत सम्बन्ध थिएन। मेरो र इमरान हाश्मीको केमेस्ट्री दाजु-बहिनीको जस्तै थियो। जब क्यामेराका लागि ‘किस’ गरिन्छ, तब क्यामेरा फेसिङको धेरै चिन्ता हुन्छ। यो निकै प्राविधिक कुरा हो। अनस्क्रिन ‘किस’मा तपाईँले आनन्द लिनुहुन्न।”

तनुश्री दत्ताको भाइरल भिडियोमा मानिसहरूले इमरान हाश्मीको बचाउ गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “इमरान हाश्मी वास्तविक जीवनमा एक भद्र पुरुष (जेन्टलम्यान) हुन्।”

त्यस्तै, अनस्क्रिन चुम्बन र बोल्ड अन्तरङ्ग दृश्य दिएपछि इमरान हाश्मीसँगको आफ्नो केमेस्ट्रीलाई दाजु-बहिनीको जस्तो बताएको भन्दै मानिसहरूले तनुश्रीको आलोचना गर्दै उनीमाथि निशाना साधिरहेका छन्।

तनुश्रीको कुरा गर्दा, एक समय उनी सौन्दर्य प्रतियोगितादेखि लिएर फिल्महरूसम्म छाइरहेकी थिइन्। तर पछि ‘मीटू’ विवादले उनको करियरमा नराम्रो असर पार्यो। त्यसपछि उनले फिल्म क्षेत्रबाट विश्राम लिएकी थिइन्।

तनुश्री दत्ताको अन्तिम फिल्म सन् २०१३ मा आएको थियो। यद्यपि, उनी सामाजिक सञ्जाल र आफ्ना अन्तर्वार्ताहरूका कारण चर्चामा छाइरहन्छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *