श्रीकृष्णजन्माष्टमी

हृषीकेश
१९ भदौ २०८३ ७:३९

गाईको रक्षा होस्।

श्रीमद्भागवत-महापुराणमा गाईलाई प्रिय हरित घाँस आदि स्वस्थ आहार गराउँदा मलाई नै भोजन गराएको सम्झनु भनी अति गुह्यतम ज्ञानको रहस्योद्घाटन गर्नुहुने भगवान् श्रीकृष्ण र गाईमा भेद छैन।

जसरी श्रीराधाकृष्णमा भेद छैन, त्यसरी नै साक्षात् महादेवी श्रीलक्ष्मीजी, गौमाता र श्रीराधारानीमा लेशमात्र पनि भेद छैन। आफ्ना अपरिमित प्रेमले लोकमा अवर्णनीय कृपा वर्षण गरिरहनुभएका श्रीराधाकृष्णको उपासनाझैँ गाईको पनि उपासना हो। उपासना प्रेम हो।

गाईको उपासनाले श्रीराधाकृष्णको उपासना हुन्छ, सबै देवीदेवता र सम्पूर्ण चराचरको उपासना हुन्छ। यिनै प्रेम र उपासना फर्किएर हाम्रा सुरक्षास्वरूपमा घटित हुन्छन्। अतः गाईको रक्षा तथा प्रेम-उपासना हामी सबैको सुरक्षाको ‘ग्यारेन्टी’ हो ॥ श्रीराधे ॥

द्वापर युगको अन्त्यमा आफ्ना महानन्दी दिव्य लीलाले लोकलाई महामग्नता दिलाउँदै परब्रह्म परमात्मा- परिपूर्णतम-साक्षात् भगवान् श्रीकृष्ण यहाँ धर्मस्थापनाको महानतम कार्य सकी फिर्ती सवारी भएपछि पनि आफ्ना असीम प्रेमले लोकको रक्षा गरिरहन, धर्मको स्थिति बनाइराख्न अनि उहाँको प्रेममा सम्मग्न कृतकृत्य लोकलाई प्रेमालिङ्गनको निरवच्छिन्न अनुभूतिको बोधमा राखिराख्न श्रीमद्भागवत-महापुराण नामक देदीप्यमान सूर्यको उदय भएको भनिन्छ। यी दीप्तिमान सूर्य साक्षात् स्वयं श्रीकृष्ण नै पुनः हुनुहुन्छ।

परब्रह्म परमात्मा भगवान् श्रीकृष्णकै पूर्ण दिव्य शरीररूप श्रीमद्भागवत-महापुराण ग्रन्थ हुन्। अतः श्रीभगवान्‌का साक्षात् स्वरूप रूपका यी अप्रतिम ग्रन्थ श्रीमद्भागवत-महापुराणमा उहाँको प्राकट्य ‘रेकर्डेड’ छ।

यिनै महानतम ग्रन्थबाट श्रीभगवान्‌का दिव्य प्राकट्य लीला यस लेखमा प्रस्तुत गर्ने जमर्को यस अज्ञानी पङ्क्तिकारको फितलो प्रयास… लालच केवल अमृतरूपी यी ग्रन्थका अमृत चर्चा अनि भगवद् चर्चाको मात्र हो। भुलचुकउपर परम आदरणीय सम्पूर्ण विद्वान् पाठकजनले माफ गर्नुहोला ॥ श्रीराधे ॥

यिनै श्रीमद्भागवत-महापुराण पारमहंस्य संहिता दशमस्कन्ध पूर्वार्धको गर्भमा रहनुभएका श्रीभगवान् विष्णुको श्रीब्रह्मादि देवताद्वारा गरिएको स्तुति नाम द्वितीय अध्याय (गर्भगतविष्णोर्ब्रह्मादिकृतस्तुतिर्नाम द्वितीयोऽध्याय) मा श्रीशुकदेवजी बतलाउनुहुन्छ-

“परीक्षित्! कंस एक त स्वयं बडा बली थियो अनि दोस्रो, मगधनरेश जरासन्धको उसलाई बहुत ठुलो सहायता प्राप्त थियो। तेस्रो, उसका साथी थिए- प्रलम्बासुर, बकासुर, चाणूर, तृणावर्त, अघासुर, मुष्टिक, अरिष्टासुर, द्विविद, पूतना, केशी अनि धेनुक। तथा बाणासुर अनि भौमासुर आदि धेरै दैत्य राजा उसका सहायक थिए। यी सबैलाई साथ लिएर ऊ यदुवंशीहरूलाई नष्ट गर्न लाग्यो ॥

“ती भयभीत भएर कुरु, पञ्चाल, केकय, शाल्व, विदर्भ, निषध, विदेह अनि कोसल आदि देशमा गएर बसे ॥ केही माथि-माथिबाट कंसको मन अनुसार काम गर्दै उसका सेवामा लाग्दा भए।

जब कंसले एक-एक गर्दै श्रीदेवकीजीका छ बालक मार्‍याे, तब श्रीदेवकीजीका सातौँ गर्भमा श्रीभगवान्‌का अंशस्वरूप श्रीशेषजी (उहाँलाई अनन्त पनि भनिन्छ) पधार्नुभो।

आनन्द-स्वरूप श्रीशेषजी गर्भमा अवतरण भएका कारण श्रीदेवकीजीलाई स्वाभाविक रूपमा नै हर्ष भो। परन्तु सायद कंसले त्यो गर्भलाई पनि मार्ला भन्ने भयले उहाँको शोक पनि बढेर गयो ॥

“विश्वात्मा श्रीभगवान्‌ले देख्नुभयो कि मलाई नै आफ्ना स्वामी अनि सर्वस्व मान्ने यदुवंशी कंसद्वारा बहुतै सताइँदै छन्। तब उहाँले आफ्नी योगमायालाई यो आदेश दिनुभयो- ‘देवि! कल्याणी! तपाईँ व्रजमा जानुहोस्। त्यो प्रदेश ग्वाला अनि गाईहरूले सुशोभित छ।

त्यहाँ श्रीनन्दबाबाजीको गोकुलमा श्रीवसुदेवजीकी पत्नी श्रीरोहिणीजी निवास गर्नुहुन्छ। उहाँका अन्य पत्नी पनि कंसबाट डराएर गुप्तस्थानहरूमा रहिरहेका छन्। यस समय मेरा ती अंश, जसलाई शेष भनिन्छ, श्रीदेवकीजीका उदरमा गर्भरूपले स्थित छन्।

तिनलाई त्यहाँबाट निकालेर तपाईँ श्रीरोहिणीजीको पेटमा राखिदिनुहोला ॥ कल्याणी! अब म आफ्ना समस्त ज्ञान, बल आदि अंशहरूका साथ श्रीदेवकीजीको पुत्र बन्नेछु अनि तपाईँ श्रीनन्दबाबाजीकी पत्नी श्रीयशोदामैय्याजीका गर्भबाट जन्म लिनुहोला ॥

तपाईँ मान्छेले जे माग्यो त्यही वर दिन समर्थ हुनुहुनेछ। मनुष्यहरू तपाईँलाई आफ्ना समस्त अभिलाषाहरू पूर्ण गर्ने देवी जानेर धूप-दीप, नैवेद्य एवं अन्य प्रकारका सामग्रीहरूले पूजा गर्नेछन् ॥ पृथ्वीमा मान्छे तपाईँका लागि बहुतै स्थान बनाउनेछन् अनि श्रीदुर्गा, श्रीभद्रकाली, श्रीविजया, श्रीवैष्णवी, श्रीकुमुदा, श्रीचण्डिका, श्रीकृष्णा, श्रीमाधवी, श्रीकन्या, श्रीमाया, श्रीनारायणी, श्रीईशानी, श्रीशारदा अनि श्रीअम्बिका आदि बहुतै नामले पुकार्नेछन् ॥

श्रीदेवकीजीका गर्भबाट खिचिनुका कारण श्रीशेषजीलाई मानिस संसारमा ‘संकर्षण’ भन्नेछन्, लोकरञ्जन गर्ने भएकाले ‘राम’ भन्नेछन्, अनि बलवानहरूमा श्रेष्ठ भएकाले ‘बलभद्र’ पनि भन्नेछन्’ ॥

“जब श्रीभगवान्‌ले यस प्रकार आदेश दिनुभयो, तब श्रीयोगमायाजीले ‘जो आज्ञा’ भनेर श्रीभगवान्‌का कुरा शिरोधार्य गर्नुभयो अनि उहाँको परिक्रमा गरेर देवी श्रीयोगमायाजी पृथ्वी-लोकमा सवार हुनुभयो तथा श्रीभगवान्‌ले जस्तो भन्नुभएको थियो, ठ्याक्कै त्यस्तै गर्नुभयो ॥

जब श्रीयोगमायाजीले देवकीजीको गर्भलाई लगेर श्रीरोहिणीजीको गर्भमा राखिदिनुभयो, तब पुरवासी बडो दुःखका साथ आपसमा भन्न लागे- ‘हाय! बेचारी देवकीको यो गर्भ त नष्ट भयो’ ॥

“श्रीभगवान् भक्तलाई अभय दिने हुनुहुन्छ। उहाँ सर्वत्र सबै रूपमा हुनुहुन्छ, उहाँलाई कतै आउनु-जानु नै छैन। त्यसैले उहाँ श्रीवसुदेवजीका मनमा आफ्ना समस्त कलाहरूका साथ प्रकट हुनुभयो ॥

त्यसमा विद्यमान रहेर पनि आफूलाई अव्यक्तबाट व्यक्त गरिदिनुभयो। श्रीभगवान्‌को ज्योति धारण गरेका कारण वसुदेवजी सूर्यसमान तेजस्वी भईजानुभयो, उहाँलाई देखेर मान्छेका आँखा तिरमिराउँथे। कोही पनि आफ्ना बल, वाणी या प्रभावले उहाँलाई दबाउन सक्दैनथे ॥

श्रीभगवान्‌का ती ज्योतिर्मय अंशलाई, जो जगत्‌को परम मङ्गल गर्ने हुन्, श्रीवसुदेवजीबाट आधान हुँदा देवी श्रीदेवकीजीले ग्रहण गर्नुभयो। जसरी पूर्वदिशाले चन्द्रदेवजीलाई धारण गर्दछिन्, त्यसरी नै शुद्ध सत्त्वले सम्पन्न देवी श्रीदेवकीजीले विशुद्ध मनले सर्वात्मा एवं आत्मस्वरूप श्रीभगवान्‌लाई धारण गर्नुभयो ॥

श्रीभगवान् सारा जगत्‌का निवासस्थान हुनुहुन्छ। देवी श्रीदेवकीजी उहाँकी पनि निवासस्थान बनिजानुभयो। परन्तु घडा आदिको भित्र बन्द गरिएको दीपक अनि आफ्नो विद्या अरूलाई नदिने ज्ञानखलको श्रेष्ठ विद्याको प्रकाश जसरी चारैतर्फ फैलिँदैन, त्यसरी नै कंसको कारागारमा बन्द श्रीदेवकीजीको पनि त्यति शोभा भएन ॥

श्रीदेवकीजीका गर्भमा श्रीभगवान् विराजमान भइसक्नुभएको थियो। उहाँको मुखश्रीमा पवित्र मुस्कान थियो अनि उहाँको शरीरको कान्तिले बन्दीगृह जगमगाउन लागेको थियो।

जब कंसले उहाँलाई देख्यो, तब उसले मनमनै भन्न लाग्यो- ‘अबको बार मेरा प्राणको ग्राहक विष्णुले यसको गर्भमा अवश्य नै प्रवेश गरेको छ; किनभने योभन्दा पहिले देवकी कहिल्यै यस्ती थिइन॥ अब यसको विषयमा शीघ्रभन्दा शीघ्र के गर्नुपर्छ? देवकीलाई मार्नु त ठीक हुन्न; किनभने वीर पुरुष स्वार्थवश आफ्ना पराक्रमलाई कलङ्कित गर्दैनन्।

एक त यो स्त्री हो, दोस्रो बहिनी अनि तेस्रो गर्भवती हो। यसलाई मार्नाले त तत्काल नै मेरो कीर्ति, लक्ष्मी अनि आयु नष्ट हुनेछन् ॥ त्यो मनुष्य त जीवित रहेर पनि मरेको हो, जो अत्यन्त क्रूरताको व्यवहार गर्दछ। उसको मृत्युपछि मान्छे उसलाई गाली गर्नेछन्।

यति मात्र होइन, त्यो देहाभिमानीहरूका लागि योग्य घोर नरकमा अवश्य-अवश्य जान्छ’ ॥ यद्यपि कंस श्रीदेवकीजीलाई मार्न सक्थ्यो, किन्तु स्वयं नै ऊ अत्यन्त क्रूरताको विचारबाट निवृत्त भइगयो। अब कंस श्रीभगवान्‌प्रति दृढ वैरभाव मनमा गाँठेर उहाँको जन्मको प्रतीक्षा गर्न लाग्यो।

ऊ उठ्दा-बस्दा, खाँदा-पिउँदा, सुत्दा-जाग्दा, चल्दा-फिर्दा सर्वदा नै श्रीकृष्णको चिन्तनमा लागिरहन्थ्यो। जहाँ उसको आँखा पर्थ्यो, जहाँ केही खड्किन्थ्यो, त्यहाँ उसलाई श्रीकृष्ण देखिइहाल्नुहुन्थ्यो। यस प्रकार उसलाई सारा जगत् नै श्रीकृष्णमय देखिन लाग्यो ॥ श्रीराधे ॥

“परीक्षित्! भगवान् श्रीशङ्करजी अनि श्रीब्रह्माजीको कंसको कैदखानामा सवारी चल्यो। उहाँहरूका साथ आफ्ना अनुचरहरूका सहित समस्त देवता अनि नारदादि ऋषि पनि हुनुहुन्थ्यो। उहाँहरू सबै जना सुमधुर वचनहरूले सबैका अभिलाषा पूर्ण गर्ने श्रीहरिजीको यस प्रकार स्तुति गर्न लाग्नुभयो–

‘प्रभो! हजुर सत्यसङ्कल्प हुनुहुन्छ। सत्य नै हजुरको प्राप्तिको श्रेष्ठ साधन हो। सृष्टिको पूर्व, प्रलयको पश्चात् अनि संसारको स्थितिको समय– यी असत्य अवस्थामा पनि हजुर सत्य हुनुहुन्छ। पृथ्वी, जल, तेज, वायु अनि आकाश- यी पाँच दृश्यमान सत्यहरूका हजुर नै कारण हुनुहुन्छ अनि तिनमा अन्तर्यामीरूपले विराजमान पनि हुनुहुन्छ।

हजुर यस दृश्यमान जगत्‌का परमार्थस्वरूप हुनुहुन्छ। हजुर नै मधुर वाणी र समदर्शनका प्रवर्तक हुनुहुन्छ। भगवन्! हजुर त बस, सत्यस्वरूप नै हुनुहुन्छ। हामी सबै हजुरको शरणमा आएका छौँ ॥ यो संसार के हो, एक सनातन वृक्ष। यस वृक्षका आश्रय के हुन्- एक प्रकृति।

यिनका दुई फल छन्- सुख अनि दुःख; तीन जडहरू छन्- सत्त्व, रज अनि तम; चार रस छन्– धर्म, अर्थ, काम अनि मोक्ष। यिनलाई जान्ने पाँच प्रकार छन्– श्रोत्र, त्वचा, नेत्र, रसना अनि नासिका।

यिनका छ स्वभाव छन्- पैदा हुनु, रहनु, बढ्नु, बदल्नु, घट्नु अनि नष्ट भइजानु। यी वृक्षका छाल हुन् सात धातुहरू– रस, रुधिर, मांस, मेद, अस्थि, मज्जा अनि शुक्र। आठ शाखाहरू छन्- पाँच महाभूत, मन, बुद्धि अनि अहंकार।

यिनमा मुख आदि नौ द्वार खोक्रा छन्। प्राण, अपान, व्यान, उदान, समान, नाग, कूर्म, कृकल, देवदत्त अनि धनञ्जय– यी दस प्राण नै यिनका दस पात हुन्। यस संसाररूप वृक्षमा दुई पक्षी छन्– जीव अनि ईश्वर ॥

यस संसाररूप वृक्षको उत्पत्तिको आधार एकमात्र हजुर नै हुनुहुन्छ। हजुरमै यिनको प्रलय हुन्छ अनि हजुरकै अनुग्रहले यिनको रक्षा पनि हुन्छ। जसको चित्त हजुरको मायाले आवृत भइरहेको छ, यस सत्यलाई सम्झिने शक्ति गुमाउन पुगेका छन्- तिनी नै उत्पत्ति, स्थिति अनि प्रलय गर्नुहुने श्रीब्रह्माजी आदि देवताहरूलाई अनेक देख्दछन्। तत्त्वज्ञानी पुरुष त सबैका रूपमा केवल हजुरकै दर्शन गर्दछन् ॥

हजुर ज्ञानस्वरूप आत्मा हुनुहुन्छ। चराचर जगत्‌को कल्याणका लागि नै अनेकौँ रूपहरू धारण गर्नुहुन्छ। हजुरका ती रूप विशुद्ध अप्राकृत सत्त्वमय हुन्छन् अनि सन्त पुरुषहरूलाई बहुत सुख दिन्छन्। साथै दुष्टलाई तिनको दुष्टताको दण्ड पनि दिन्छन्।

तिनका लागि अमङ्गलमय पनि हुन्छन् ॥ कमल समान कोमल अनुग्रहपूर्ण नेत्रयुक्त प्रभो! केही बिरलै मान्छे मात्र हजुरका समस्त पदार्थहरूका अनि प्राणीहरूका आश्रयस्वरूप रूपमा पूर्ण एकाग्रताले आफ्ना चित्त लगाउन पाउँदछन् अनि हजुरका चरणकमलरूपी जहाजको आश्रय लिएर यस संसारसागरलाई बाच्छाबाच्छीका खुरले टेक्दा बनेको खोपिल्टो समान अनायास नै पार गरेर जान्छन्।

किन नहोस्, अहिलेसम्मका सन्तजनले यिनै जहाजले संसार-सागरलाई पार जो गर्नुभएको छ ॥ परम प्रकाशस्वरूप परमात्मन्! हजुरका भक्तजन सारा जगत्‌का निष्कपट प्रेमी, सच्चा हितैषी हुन्छन्।

ती स्वयं त यस भयंकर अनि कष्टले पार गर्नयोग्य संसारसागरलाई पार गर्छन् नै, किन्तु अरूको कल्याणका लागि पनि ती यहाँ हजुरका चरणकमलको नौका स्थापित गरेर जान्छन्। वास्तवमा सत्पुरुषहरूमा हजुरको महान् कृपा छ। तिनका लागि हजुर अनुग्रहस्वरूप नै हुनुहुन्छ ॥

कमलनयन! जो हजुरका चरणकमलको शरण लिँदैनन् तथा हजुरका प्रति भक्तिभावले रहित भएका कारण जसको बुद्धि पनि शुद्ध छैन, ती आफूलाई झुटमुट मुक्त मान्छन्। वास्तवमा त ती बद्ध नै हुन्।

ती यदि ठुला तपस्या अनि साधनाका कष्ट उठाएर कुनै प्रकार उँचाभन्दा उँचा पदमा पुगे पनि, त्यहाँबाट तल खस्न पुग्छन् ॥ परन्तु भगवन्! जो हजुरका आफ्ना निजजन छन्, जसले हजुरका चरणहरूमा आफ्नो सच्चा प्रीति जोडेर राखेका छन्, तिनी कहिल्यै पनि ती ज्ञानाभिमानीहरू सरह आफ्ना साधन-मार्गबाट खस्तैनन्।

प्रभो! तिनी बडा-बडा विघ्न हाल्ने सेनाका सरदारहरूका शिरमा गोडा टेकेर निर्भय विचरद्छन्, कुनै पनि विघ्न तिनका मार्गमा रोकावट हाल्न सक्दैनन्; किनकी तिनका रक्षक हजुर जो हुनुहुन्छ ॥

हजुर संसारको स्थितिका लागि समस्त देहधारीहरूलाई परम कल्याण प्रदान गर्ने विशुद्ध सत्त्वमय, सच्चिदानन्दमय परम दिव्य मङ्गल-विग्रह प्रकट गर्नुहुन्छ। ती रूप प्रकट भएका कारण नै हजुरका भक्त वेद, कर्मकाण्ड, अष्टाङ्गयोग, तपस्या अनि समाधिद्वारा हजुरको आराधना गर्दछन्। बिना कुनै आश्रयले ती कसको आराधना गर्दा हुन्? ॥ प्रभो! हजुर सबैका विधाता हुनुहुन्छ।

यदि हजुरका यी विशुद्ध सत्त्वमय निज स्वरूप नहुँदा हुन् त अज्ञान अनि त्यसद्वारा हुने भेदभावलाई नष्ट गर्ने अपरोक्ष ज्ञान नै कसैलाई हुन्नथ्यो। जगत्‌मा देखिने तीनै गुण हजुरका हुन् अनि हजुरद्वारा नै प्रकाशित हुन्, यो सत्य हो।

परन्तु यी गुणहरूका प्रकाशक वृत्तिहरूले हजुरको स्वरूपको केवल अनुमान नै हुन्छ, वास्तविक स्वरूपको साक्षात्कार हुन्न। (हजुरको स्वरूपको साक्षात्कार त हजुरका यी विशुद्ध सत्त्वमय स्वरूपको सेवा गर्नाले हजुरको कृपाबाट नै हुन्छ) ॥

भगवन्! मन अनि वेद-वाणीद्वारा केवल हजुरको स्वरूपको अनुमान मात्र हुन्छ। किनकि हजुर तिनीहरूद्वारा दृश्य होइन, तिनका साक्षी हुनुहुन्छ। त्यसैले हजुरका गुण, जन्म अनि कर्म आदिका द्वारा हजुरको नाम अनि रूपको निरूपण गर्न सकिन्न। फेरि पनि प्रभो! हजुरका भक्तजन उपासना आदि क्रियायोगहरूद्वारा हजुरको साक्षात्कार त गर्छन् नै ॥

जो पुरुष हजुरका मङ्गलमय श्रीनाम अनि रूपहरूको श्रवण, कीर्तन, स्मरण अनि ध्यान गर्दछन् अनि हजुरका चरणकमलको सेवामै मात्र चित्त लगाइरहन्छन्– तिनलाई फेरि जन्म-मृत्युरूप संसारको चक्रमा आउनु पर्दैन ॥

सम्पूर्ण दुःखहरूलाई हरण गर्नुहुने भगवन्! हजुर सर्वेश्वर हुनुहुन्छ। यी पृथ्वी त हजुरका चरणकमल नै हुन्। हजुरका अवतारले यिनको भार दूर भइगयो। धन्य छ प्रभो! हाम्रा लागि यी बडा सौभाग्यका कुरा हुन् कि हामी हजुरका सुन्दर-सुन्दर चिह्नहरूले युक्त चरणकमलहरूद्वारा विभूषित पृथ्वीलाई निहार्नेछौँ अनि स्वर्गलोकलाई पनि हजुरको कृपाले कृतार्थ दर्शन गर्नेछौँ ॥

प्रभो! हजुर आजन्मा हुनुहुन्छ। यदि हजुरको जन्मको कारणका सम्बन्धमा हामी कोही तर्क गर्दैनौँ त यही भन्न सकिन्छ कि यी हजुरका लीला-विनोद हुन्। यस्तो भन्नुका कारण यी हुन् कि हजुर त द्वैतको लेशले रहित सर्वाधिष्ठानस्वरूप हुनुहुन्छ अनि यस जगत्‌को उत्पत्ति, स्थिति तथा प्रलय अज्ञानद्वारा हजुरमा आरोपित छन् ॥

प्रभो! जसरी हजुरले अनेकौँ बार मत्स्य, हयग्रीव, कच्छप, नृसिंह, वराह, हंस, राम, परशुराम अनि वामन अवतारहरू धारण गरेर हाम्रा अनि तीनै लोकहरूका रक्षा गर्नुभएको छ- त्यसरी नै हजुर यस बार पनि पृथ्वीको भार हरण गरिदिनुहोस्। यदुनन्दन! हामी हजुरका चरणमा वन्दना गर्दछौँ’ ॥

[श्रीदेवकीजीलाई सम्बोधित गर्दै] ‘माताजी! यी बडा सौभाग्यका कुरा हुन् कि हजुरको कोखमा हामी सबैको कल्याण गर्न स्वयं भगवान् श्री पुरुषोत्तम आफ्ना ज्ञान, बल आदि अंशहरूका साथ पधार्नुभएको छ। अब हजुर कंससँग अलिकति पनि नडराउनुहोस्। अब त त्यो केही दिनको पाहुना मात्र त हो। हजुरका पुत्रले यदुवंशको रक्षा गर्नेछन्’ ॥

श्रीशुकदेवजी बताउनुहुन्छ- “परीक्षित्! श्रीब्रह्माजी आदि देवताहरूले यस प्रकार श्रीभगवान्‌को स्तुति गर्नुभो। उहाँको रूप ‘यही हो’ यस प्रकार निश्चित रूपले त भन्न सकिन्न, सबै आफ्ना-आफ्ना मति अनुसार उहाँको रूपको निरूपण गर्दछन्। यसपछि श्रीब्रह्माजी अनि श्रीशङ्करजीलाई अघि-अघि राखेर नतमस्तक अनुरोधको भावमा अर्पण हुँदै देवगण स्वर्गमा जानुभयो ॥

श्रीमद्भागवत-महापुराणको पारमहंस्य संहिता दशमस्कन्ध पूर्वार्धको कृष्णजन्मनि (भगवान् श्रीकृष्णको जन्म सम्बन्धी) तेस्रो अध्यायमा श्रीशुकदेवजी राजा परीक्षित्‌जीलाई भगवान् श्रीकृष्णको प्राकट्यबारे बताउनुहुन्छ-

“परीक्षित्! अब समस्त शुभ गुणहरूले युक्त बहुत आनन्दकर समय आयो। रोहिणी नक्षत्र थिए। आकाशका सबै नक्षत्र, ग्रह र ताराहरू सबै शान्त-सौम्य हुँदै थिए ॥

(जसरी अन्तःकरण शुद्ध हुँदा तिनमा श्रीभगवान्‌को आविर्भाव हुन्छ, परब्रह्म परमात्मा भगवान् श्रीकृष्णावतारको दिव्य अवसरमा ठ्याक्कै त्यस्तै प्रकारको समष्टिको शुद्धिको वर्णन गरिएको छ। यिनमा काल, दिशा, पृथ्वी, जल (नदीहरू), अग्नि, वायु, आकाश, मन अनि आत्मा- यी नौ द्रव्यहरूका अलग-अलग नामोल्लेख गरेर साधकका लागि एक अत्यन्त उपयोगी साधन-पद्धतितर्फ सङ्केत गरिएको छ। यहाँ यसै अध्यायको प्रसङ्गमा यी माथि उल्लिखित नौवटा द्रव्यको गजब सुन्दर व्याख्याले साधकजनलाई मार्गनिर्देश गरिएको छ ॥ श्रीराधे ॥)

“दिशाहरू स्वच्छ प्रसन्न थिए। निर्मल आकाशमा ताराहरू जगमगाइरहेका थिए। पृथ्वीका ठुला-ठुला नगर, साना-साना गाउँ, अहिरका बस्तीहरू अनि हीरा आदिका खानहरू मङ्गलमय हुँदै थिए ॥

नदीहरूका जल निर्मल भइगएका थिए। रात्रिको समयमा पनि सरोवरहरूमा कमल फुलिरहेका थिए। वनमा वृक्षका पातहरू रङ्गीबिरङ्गी पुष्पका गुच्छाहरूले भरिएका थिए। कतै पक्षीहरू चहकिरहेका थिए त कतै भमराहरू गुनगुनाइरहेका थिए ॥

त्यस समय परम पवित्र अनि शीतल-मन्द-सुगन्ध वायु आफ्ना स्पर्शले मानिसलाई सुखदान गर्दै बहिरहेको थियो। ब्राह्मणहरूका अग्निहोत्रका कहिल्यै ननिभ्ने अग्निहरू जो कंसको अत्याचारले निभिगएका थिए, ती यस समय आफ-से-आफ प्रज्ज्वलित भएर उठे ॥

“सन्त पुरुष पहिल्यैदेखि चाहन्थे कि असुरहरूको बढोत्तरी हुन नपाओस्। अब ती सन्तका मन पनि सहसा प्रसन्नताले भरि गए। जुन समय श्रीभगवान्‌को आविर्भावको समय आयो, स्वर्गमा देवताहरूका दुन्दुभि (ठुला दमाहा, नगरा) हरू आफ-से-आफ बजेर उठे ॥

किन्नर अनि गन्धर्व मधुर स्वरहरूमा गायन गर्न लागे तथा सिद्ध अनि चारण श्रीभगवान्‌को मङ्गलमय स्तुति गर्न लागे। विद्याधरीहरू अप्सराहरूसँग नाच्न लागे ॥ ठुला-ठुला देवता अनि ऋषि-मुनि आनन्दले भरिएर पुष्पको वर्षा गर्न लागे।

जलले भरिएका बादल समुद्रको नजिक गएर सुस्तरी-सुस्तरी गर्जना गर्न लागे ॥ जन्म-मृत्युको चक्रबाट छुटाउने भगवान् श्रीजनार्दनको अवतारको समय थियो निशीथ। चारैतर्फ अन्धकारको साम्राज्य थियो।

त्यसै समय सबैका हृदयमा विराजमान भगवान् विष्णु देवरूपिणी देवकीजीका गर्भबाट प्रकट भइजानुभयो, जसरी पूर्व दिशामा सोह्र कलाले पूर्ण चन्द्रमाको उदय भएको छ ॥ श्रीराधे ॥

“श्रीवसुदेवजीले देख्नुभो, उहाँका सामने एक अद्भुत बालक हुनुहुन्छ। उहाँका नेत्र कमल समान कोमल अनि विशाल छन्। चार सुन्दर हातहरूमा शङ्ख, गदा, चक्र अनि कमल लिनुभएको छ। वक्षःस्थलमा श्रीवत्सको चिह्न- अत्यन्त सुन्दर सुवर्णमयी रेखा छ।

गलामा कौस्तुभमणि झिलमिलाइरहेको छ। वर्षाकालीन मेघसमान परम सुन्दर श्यामल शरीरमा मनोहर पीताम्बर फहराइरहेको छ। बहुमूल्य वैदूर्यमणिको किरीट अनि कुण्डलका कान्तिले सुन्दर-सुन्दर घुँघराले केशराशी सूर्यका किरण समान चम्किरहेका छन्।

कम्मरमा चमचमाइरहेका करधनीका लहरहरू लट्किरहेका छन्। बाहुहरूमा बाजुबन्द र नाडीहरूमा कंकण शोभायमान हुँदैछन्। यी सबै आभूषणहरूले सुशोभित बालकका अङ्ग-अङ्गबाट अद्भुत छटा छचल्किरहेकी छ।

जब वसुदेवजीले देख्नुभो कि मेरो पुत्रका रूपमा त स्वयं श्रीभगवान् नै आउनुभएको छ, तब पहिले त उहाँलाई असीम आश्चर्य भयो; फेरि आनन्दले उहाँका आँखाहरू फक्रिरहेका दिव्य फूलझैँ खुलेर उठे।

उहाँको रोम-रोम परमानन्दमा मग्न भइगयो। परब्रह्म परमात्मा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने उताउलोपनमा उहाँले त्यसै समय ब्राह्मणहरूका लागि दस हजार गाईको सङ्कल्प गरिदिनुभयो ॥

श्रीशुकदेवजी राजा परीक्षित्‌जीलाई अगाडि बताउनुहुन्छ- “परीक्षित्! भगवान् श्रीकृष्ण आफ्ना अङ्गकान्तिले सूतिकागृहलाई जगमग गरिरहनुभएको थियो।

जब श्रीवसुदेवजीलाई यो निश्चय भयो कि उहाँ त परम पुरुष परमात्मा नै हुनुहुन्छ, तब श्रीभगवान्‌को प्रभाव जानिसकेपछि उहाँका सारा भय जाँदै रहे। आफ्नो बुद्धिलाई स्थिर गरेर उहाँले श्रीभगवान्‌का चरणमा आफ्नो शिर झुकाइदिनुभयो अनि फेरि हात जोडेर उहाँ श्रीभगवान्‌को स्तुति गर्न लाग्नुभयो- ॥

“वसुदेवजीले श्रीभगवान्‌का चरणकमलमा स्तुतिमय हुँदै यसरी स्वतःस्फूर्त अभिव्यक्ति दिनुभयो- ‘मैले बुझिसकेँ कि हजुर प्रकृतिभन्दा अतीत साक्षात् पुरुषोत्तम हुनुहुन्छ।

हजुरको स्वरूप हो केवल अनुभव अनि केवल आनन्द। हजुर समस्त बुद्धिहरूका एक मात्र साक्षी हुनुहुन्छ ॥ हजुर नै सर्गको आदिमा आफ्ना प्रकृतिले यस त्रिगुणमय जगत्‌को सृष्टि गर्नुहुन्छ। फेरि तिनमा प्रविष्ट नभएर पनि हजुर प्रविष्टभए समान जानिनुहुन्छ ॥

जसरी जबसम्म महतत्त्व आदि कारण-तत्त्व पृथक्-पृथक् रहन्छन्, तबसम्म तिनका शक्ति पनि पृथक्-पृथक् हुन्छन्; जब ती इन्द्रियादि सोह्र विकारका साथ मिल्दछन्, तब नै यस ब्रह्माण्डको रचना गर्दछन् अनि यिनलाई उत्पन्न गरेर यिनैमा अनुप्रविष्ट-जस्तो जानिन्छन्; परन्तु साँचो कुरा त यो हो कि तिनी कुनै पनि पदार्थमा प्रवेश गर्दैनन्। यस्तो हुनाको कारण यो हो कि तिनीबाट बनेका जो पनि वस्तु छन्, तिनमा तिनी पहिले नै विद्यमान रहन्छन् ॥

ठीक त्यसै गरी नै बुद्धिका द्वारा केवल गुणहरूका लक्षणहरूको नै अनुमान गरिन्छ अनि इन्द्रियहरूद्वारा केवल गुणमय विषयहरूको नै ग्रहण हुन्छ। यद्यपि हजुर तिनमा रहनुहुन्छ, फेरि पनि ती गुणहरूका ग्रहणले हजुरको ग्रहण हुँदैन।

यसको कारण यो हो कि हजुर सबकुछ हुनुहुन्छ, सबैका अन्तर्यामी हुनुहुन्छ अनि परमार्थ सत्य, आत्मस्वरूप हुनुहुन्छ। गुणहरूका आवरणले हजुरलाई ढाक्न सक्दैनन्। त्यसैले हजुरमा न बाहिर छ न भित्र। फेरि हजुर केमा प्रवेश गर्नुहुन्छ र?! (त्यसैले प्रवेश नगर्दा पनि हजुर प्रवेश गरे समान देखिनुहुन्छ) ॥

‘जो आफ्ना यी दृश्य गुणहरूलाई आफूभन्दा पृथक् मानेर सत्य सम्झिन्छन्, ती अज्ञानी हुन्। किनकि विचार गर्दा यी देह-गेह आदि पदार्थ वाग्विलासका सिवाय अरू केही सिद्ध हुँदैनन्।

विचारद्वारा जुन वस्तुको अस्तित्व सिद्ध हुँदैन, बरु जो बाधित हुन्छन्, तिनलाई सत्य मान्ने पुरुष बुद्धिमान् कसरी हुन सक्छ? ॥ प्रभो! भनिन्छ कि हजुर स्वयं समस्त क्रियाहरू, गुणहरू र विकारहरू रहित हुनुहुन्छ। फेरि पनि यस जगत्‌को सृष्टि, स्थिति अनि प्रलय हजुरबाटै हुन्छन्।

यी कुरा परम ऐश्वर्यशाली परब्रह्म परमात्मा हजुरका लागि असङ्गत छैनन्। किनभने तीनै गुणका आश्रय हजुर नै हुनुहुन्छ, त्यसैले ती गुणहरूका कार्य आदिलाई हजुरमै आरोप गरिन्छ ॥

हजुर नै तीनै लोकहरूको रक्षा गर्नका लागि आफ्नो मायाले सत्त्वमय शुक्लवर्ण (पोषणकारी श्रीविष्णुरूप) धारण गर्नुहुन्छ, उत्पत्तिका लागि रजःप्रधान रक्तवर्ण (सृजनकारी श्रीब्रह्मारूप) अनि प्रलयको समय तमोगुणप्रधान श्रीकृष्णवर्ण (संहारकारी श्रीरुद्ररूप) स्वीकार गर्नुहुन्छ ॥ प्रभो! हजुर सर्वशक्तिमान् अनि सबैका स्वामी हुनुहुन्छ। यस संसारको रक्षाका लागि नै हजुरले मेरो घरमा अवतार लिनुभएको छ।

आजकल कोटि-कोटि असुर सेनापतिहरूले राजाको नाम धारण गरेर राखेका छन् अनि आफ्ना अधीन ठुला-ठुला सेनाहरू बनाएर राखेका छन्। हजुर ती सबैको संहार गर्नुहुनेछ ॥ देवताहरूका पनि आराध्यदेव प्रभो! यो कंस बडा दुष्ट छ।

यसलाई जब थाहा भयो कि हजुरको अवतार हाम्रो घरमा हुनेवाला छ, तब उसले हजुरको भयले हजुरका ठुला दाजुहरूलाई मारिदियो। अहिले तुरुन्तै उसका दूतहरूले हजुरका अवतारको समाचार उसलाई सुनाउनेछन् अनि ऊ तुरुन्तातुरुन्त हातमा शस्त्र लिएर दौडिँदै आउनेछ’ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ- “परीक्षित्! यता देवकीजीले देख्नुभो कि मेरो पुत्रमा त श्रीपुरुषोत्तम भगवान्‌का सबै लक्षण मौजुद छन्। पहिले त उहाँलाई कंससँग केही भय मालूम भयो, परन्तु फेरि उहाँ बडा पवित्र भावले मुस्कुराउँदै स्तुति गर्न लाग्नुभो ॥

माता श्रीदेवकीजी भन्नुहुन्छ – ‘प्रभो! वेदहरूले हजुरको जुन रूपलाई अव्यक्त अनि सबैको कारण बतलाएका छन्, जो ब्रह्म, ज्योतिःस्वरूप, समस्त गुणहरूले रहित अनि विकारहीन हुनुहुन्छ, जसलाई विशेषणरहित-अनिर्वचनीय, निष्क्रिय एवं केवल विशुद्ध सत्ताका रूपमा भनिएको छ- तिनै बुद्धि आदिका प्रकाशक श्रीविष्णु हजुर स्वयं हुनुहुन्छ ॥

जुन समय श्रीब्रह्माजीको पुरा आयु (दुई परार्ध) समाप्त हुन्छ, काल शक्तिका प्रभावले सारा लोकहरू नष्ट हुन्छन्, पञ्चमहाभूत अहङ्कारमा, अहङ्कार महतत्त्वमा अनि महतत्त्व प्रकृतिमा लीन हुन्छन्– त्यस समय एकमात्र हजुर नै शेष रहनुहुन्छ।

त्यसैले हजुरको एक नाम ‘शेष’ पनि हो ॥ प्रकृतिका एकमात्र सहायक प्रभो! निमेषदेखि लिएर वर्षपर्यन्त अनेक विभागहरूमा विभक्त जो काल हुन्, जसका चेष्टाले यी सम्पूर्ण विश्व सचेष्ट भइरहेका छन् अनि जसको कुनै सीमा छैन, ती हजुरका लीलामात्र हुन्। हजुर सर्वशक्तिमान् अनि परम कल्याणका आश्रय हुनुहुन्छ।

म हजुरको शरण लिन्छु ॥ प्रभो! यो जीव मृत्युग्रस्त हुँदैछ। यो मृत्युरूप कराल व्यालबाट भयभीत भएर सम्पूर्ण लोकलोकान्तरहरूमा भट्किइरहेको छ; परन्तु यसलाई कहिल्यै कहीँ पनि यस्तो स्थान मिल्न सकेन, जहाँ यो निर्भय भएर रहन सकोस्। आज बडा भाग्यले यसलाई हजुरका चरणारविन्दको शरण मिलिगयो। अतः यो स्वस्थ भएर सुखको निद्रामा सुतिरहेको छ।

अरूको त के कुरा, स्वयं मृत्यु पनि यसबाट भयभीत भएर भागेको छ ॥ प्रभो! हजुर हुनुहुन्छ भक्तभयहारी। अनि हामी यस दुष्ट कंसबाट बहुतै भयभीत छौँ। अतः हजुर हाम्रो रक्षा गर्नुहोस्।

हजुरका यी चतुर्भुज दिव्यरूप ध्यानका वस्तु हुन्। यी रूपलाई केवल मांस-मज्जामय शरीरमा नै दृष्टि राख्ने देहाभिमानी व्यक्तिहरूका सामने प्रकट नगरिदिनुहोस् ॥

मधुसूदन! यस पापी कंसलाई यो कुरा मालूम नहोस् कि हजुरको जन्म मेरो गर्भबाट भएको हो। मेरो धैर्य टुट्दैछ। हजुरका लागि म कंससँग बहुत डराउँदैछु ॥ विश्वात्मन्! हजुरका यी रूप अलौकिक छन्। हजुर शङ्ख, चक्र, गदा अनि कमलको शोभाले युक्त आफ्ना यी चतुर्भुजरूप छिपाइदिनुहोस् ॥

प्रलयको समय हजुर यस सम्पूर्ण विश्वलाई आफ्नो शरीरमा त्यसरी नै स्वाभाविक रूपले धारण गर्नुहुन्छ, जसरी कुनै मनुष्य आफ्नो शरीरमा रहने छिद्ररूप आकाशलाई। उनै परम पुरुष परमात्मा हजुर मेरो गर्भवासी भइजानुभयो, यी हजुरको अद्भुत मनुष्य-लीला होइन त अरू के होला र?’ ॥

श्रीभगवान्‌बाट मर्जी हुन्छ – “देवि! स्वायम्भुव मन्वन्तरमा जब तपाईँको पहिलो जन्म भएको थियो, त्यस समय तपाईँको नाम थियो पृश्नि अनि उहाँ वसुदेवजी सुतपा नामका प्रजापति हुनुहुन्थ्यो। तपाईँहरू दुवैका हृदय बडा नै शुद्ध थिए ॥

जब ब्रह्माजीले तपाईँ दुवैलाई सन्तान उत्पन्न गर्ने आज्ञा दिनुभयो, तब तपाईँहरूले इन्द्रियहरूलाई दमन गरेर उत्कृष्ट तपस्या गर्नुभयो ॥ तपाईँहरू दुवैले वर्षा, वायु, घाम, शीत, उष्ण आदि कालका विभिन्न गुणहरूलाई सहन गर्नुभयो अनि प्राणायामद्वारा आफ्ना मनका मललाई धुनुभयो ॥

तपाईँ दुवैले कहिले सुकेका पात खानुभयो त कहिले हावा पिएर रहनुभयो। तपाईँ दुवैका चित्त बडा शान्त थिए। यस प्रकार तपाईँहरूले मबाट अभीष्ट वस्तु प्राप्त गर्ने इच्छाले मेरो आराधना गर्नुभयो ॥

ममा चित्त लगाएर यस्तो परम दुष्कर अनि घोर तप गर्दा-गर्दै देवताका बाह्र हजार वर्ष बिती गए ॥ पुण्यमयी देवि! त्यस समयमा म तपाईँ दुवैमा प्रसन्न भएँ। किनकि तपाईँ दुवैले तपस्या, श्रद्धा अनि प्रेममयी भक्तिले आफ्ना हृदयमा नित्य-निरन्तर मेरो भावना गर्नुभएको थियो।

त्यस समय तपाईँ दुवैका अभिलाषा पूर्ण गर्नका लागि वर दिनेहरूका राजा म यही रूपले तपाईँहरूका सामने प्रकट भएँ। जब मैले भनेँ कि ‘तपाईँहरूको जे इच्छा छ, मसँग माग्नुहोस्’, तब तपाईँ दुवैले मजस्तै पुत्र माग्नुभयो ॥

त्यस समयसम्म विषय-भोगसँग तपाईँ दुवैको कुनै सम्बन्ध भएको थिएन। तपाईँहरूका कुनै सन्तान पनि थिएनन्। त्यसैले मेरो मायाले मोहित भएर तपाईँ दुवैले मसँग मोक्ष माग्नुभएन ॥

तपाईँ दुवैलाई मजस्तै पुत्र प्राप्त हुने वर मिल्यो र म त्यहाँबाट गएँ। अब सफलमनोरथ भएर तपाईँ दुवै विषयभोग गर्न लाग्नुभयो ॥ मैले देखेँ कि संसारमा शील-स्वभाव, उदारता तथा अन्य गुणहरूमा मसरह दोस्रो कोही छैन; त्यसैले म नै तपाईँ दुवैको पुत्र भइदिएँ अनि त्यस समय म ‘पृश्निगर्भ’का नामले विख्यात भएँ ॥

फेरि दोस्रो जन्ममा तपाईँ हुनुभयो अदितिजी अनि वसुदेवजी हुनुभयो कश्यपजी। त्यस समय पनि म तपाईँकै पुत्र भएँ। मेरो नाम थियो ‘उपेन्द्र’। शरीर सानो भएका कारण मानिस मलाई ‘वामन’ पनि भन्थे ॥ सती देवकी! तपाईँको यस तेस्रो जन्ममा पनि म उही रूपले फेरि तपाईँकै पुत्र भएको छु। मेरा वाणी सर्वदा सत्य हुन्छन् ॥

‘मैले तपाईँलाई यो रूप यसैले देखाइदिएँ कि तपाईँलाई मेरा पूर्व अवतारहरूको स्मरण भइजाओस्। यदि मैले यसो नगरेको भए, केवल मनुष्य शरीरले मेरो अवतारको पहिचान हुन पाउँदैनथ्यो ॥ तपाईँ दुवैले मप्रति पुत्रभाव तथा निरन्तर ब्रह्मभाव राख्नु। यस प्रकार वात्सल्य स्नेह अनि चिन्तनद्वारा तपाईँहरूलाई मेरो परम पदको प्राप्ति हुनेछ’ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ- “श्रीभगवान् यति भनेर चुप भइजानुभयो। अब उहाँले आफ्ना योगमायाले माता-पिताले हेर्दाहेर्दै तुरुन्तै एक साधारण शिशुको रूप धारण गरिहाल्नुभयो ॥

तब वसुदेवजीले श्रीभगवान्‌को प्रेरणाले आफ्ना पुत्रलाई लिएर सूतिकागृहबाट बाहिर निस्किने इच्छा गर्नुभयो। त्यसै समय नन्दपत्नी श्रीयशोदाजीका गर्भबाट ती योगमायाजीको जन्म भयो, जो भगवान्‌की शक्ति भएका कारण भगवान्‌सरह नै जन्म-रहित हुनुहुन्छ ॥

तिनै योगमायाजीले द्वारपाल अनि पुरवासीहरूका समस्त इन्द्रिय वृत्तिहरूका चेतना हरिलिनुभयो, ती सबैका सबै अचेत भएर सुते। बन्दीगृहका सबै ढोकाहरू बन्द थिए। तिनमा बडा-बडा कपाट, फलामका साङ्ला अनि ताल्चाहरू जडिएका थिए।

तिनीहरूबाट बाहिर जान बडा नै कठिन थियो; परन्तु वसुदेवजी भगवान् श्रीकृष्णलाई काखमा लिएर जसै-जसै तिनका निकट पुग्नुभयो, त्यसै-त्यसै नै सबै ढोकाहरू आफ-से-आफ खुलि गए। ठीक त्यसरी नै, जसरी सूर्योदय हुनासाथ अन्धकार दूर भइजान्छ।

त्यस समय बादल विस्तारै-विस्तारै गर्जिएर जलका फोहरा छोडिरहेका थिए। त्यसैले शेषजी आफ्ना फणाले जललाई रोक्दै श्रीभगवान्‌का पछि-पछि चल्न लाग्नुभयो ॥ ती दिन बारम्बार वर्षा भइरहन्थ्यो, यस कारणले श्रीयमुनाजी बहुत विराट स्वरूपमा बढ्नुभएको थियो।

उहाँका प्रवाह गहिरा अनि तेज थिए। तरल तरङ्गका कारण जलमा फिँजै-फिँज भइरहेका थिए। सयौँ भयानक भँवरीहरू परिरहेका थिए। जसरी श्रीसीतापति भगवान् श्रीरामजीलाई समुद्रले मार्ग दिएका थिए, त्यसरी नै श्रीयमुनाजीले भगवान् श्रीकृष्णलाई बाटो छोडिदिनुभयो ॥ श्रीराधे ॥

“श्रीवसुदेवजीले श्रीनन्दबाबाजीको गोकुलमा पुगेर देख्नुभो कि सबैका सबै गोप निद्राले अचेत ढलेका छन्। उहाँले आफ्ना पुत्रलाई श्रीयशोदा मैयाजीको शय्यामा सुताइदिनुभयो अनि उहाँकी नवजात कन्यालाई लिएर बन्दीगृहमा फर्किएर आइपुग्नुभयो ॥

श्रीराधे ॥ जेलमा पुगेर श्रीवसुदेवजीले ती कन्यालाई श्रीदेवकीजीको शय्यामा सुताइदिनुभयो अनि आफ्ना गोडाहरूमा फलामका ती नेलहरू कसिहाल्नुभयो तथा पहिलेकै जसरी त्यस बन्दीगृहमा बन्द भइजानुभयो ॥

उता श्रीनन्दजीकी पत्नी श्रीयशोदाजीलाई यति मात्र थाहा भयो कि कुनै सन्तति भएको छ, परन्तु उहाँले यो जान्न सक्नुभएन कि पुत्र हुन् या पुत्री। किनभने एक त उहाँलाई बडा परिश्रम भएको थियो अनि अर्कातिर श्रीयोगमायाजीले उहाँलाई अचेत पनि गरिदिनुभएको थियो ॥

श्रीमद्भागवत-महापुराण पारमहंस्य संहिता दशमस्कन्ध पूर्वार्धको चतुर्थ अध्यायमा कंसको हातबाट छुटेर भगवती देवी श्रीयोगमायाजी आकाशमा जानुभई भविष्यवाणी गर्नुहुन्छः

श्रीशुकदेवजी भन्नुहुन्छः “परीक्षित्! जब वसुदेवजी फर्किएर आउनुभयो, तब नगरका बाहिरी अनि भित्री सबै ढोकाहरू आफ-से-आफ नै पहिलेकै सरह बन्द भइगए। यसपछि सुकोमल नाजुक अति नवजात शिशुको रोदनको ध्वनि सुनेर द्वारपालहरूको निद्रा टूट्यो ॥

ती तुरुन्त भोजराज कंसको पास गए अनि श्रीदेवकीजीका सन्तान भएको कुरा भने। कंस त बडो आकुलता अनि घबराहटका साथ यही कुराको प्रतीक्षा गरिरहेकै थियो ॥ द्वारपालहरूको कुरा सुन्नासाथ ऊ झटपट पलङबाट उठेर खडा भइहाल्यो अनि बडो शीघ्रताका साथ सूतिकागृहतिर झपटियो।

यस बार त मेरो कालको नै जन्म भएको छ, यो सोचेर ऊ विह्वल भइरहेको थियो अनि यही कारण थियो कि उसलाई यस कुराको पनि ध्यान थिएन कि उसका कपाल बिग्रिएर बिखरिएका थिए। बाटोमा त कति ठाउँ ऊ लडखडाएर लड्दा-लड्दै बच्यो ॥

बन्दीगृहमा पुग्दा सती देवकीजीले बडा दुःख अनि करुणाका साथ आफ्ना भाइ कंसलाई सम्झाउन खोज्नुभयो– ‘मेरो हितैषी भाइ! यी कन्या त तपाईँकी बुहारी समान छिन्। स्त्रीजातिकी छिन्; तपाईँले स्त्रीको हत्या कदापि गर्नु हुँदैन ॥

‘दाजु! तपाईँले दैववश मेरा अग्निसमान तेजस्वी धेरै बालक मार्नुभयो। अब केवल यही एक कन्या जो बचेकी छिन्, यिनी मलाई दिनुहोस् ॥ अवश्य नै म हजुरकी सानी बहिनी हुँ। मेरा धेरै नै बच्चा मरेका छन्, त्यसैले म अत्यन्त दीन छु। मेरो प्यारा अनि समर्थ दाइ! तपाईँ म मन्दभागिनीको यी अन्तिम सन्तान अवश्य दिइदिनुहोस्’।

श्रीशुकदेवजी भन्नुहुन्छ- “परीक्षित्! कन्यालाई आफ्नो काखमा छिपाएर श्रीदेवकीजीले अत्यन्त दीनताका साथ रुँदै-रुँदै याचना गर्नुभयो। परन्तु कंस बडा दुष्ट थियो।

उसले श्रीदेवकीजीलाई झटकारेर उहाँका हातबाट ती कन्या छिनेर लियो ॥ आफ्नी ती सानी पुतलीझैँ अत्यन्त नाजुक सुकोमल नवजात भान्जीका गोडा समाएर कंसले उहाँलाई जोडले एक चट्टानमा पछार्यो। स्वार्थले उसका हृदयको सौहार्दलाई समूल उखेलेर मिल्काइसकेको थियो ॥

परन्तु परब्रह्म परमात्मा भगवान् श्रीकृष्णकी सानी बहिनी साधारण कन्या त हुनुहुन्थैन नै, देवी हुनुहुन्थ्यो; उसका हातबाट छुटेर उहाँ तुरुन्त आकाशमा भइजानुभयो अनि आफ्ना ठूला-ठूला आठ हातहरूमा आयुध लिई देखिनुभयो ॥

श्रीराधे ॥ उहाँ दिव्य माला, वस्त्र, चन्दन अनि मणिमय आभूषणहरूले विभूषित हुनुहुन्थ्यो। उहाँका हातहरूमा धनुष, त्रिशूल, बाण, ढाल, तरवार, शङ्ख, चक्र अनि गदा– यी आठ आयुध थिए ॥

सिद्ध, चारण, गन्धर्व, अप्सरा, किन्नर अनि नागगण धेरै नै अर्पणका सामग्री समर्पित गरेर उहाँको स्तुति गर्दै थिए। त्यस समय श्रीदेवीजीले कंसलाई यो भन्नुभयो- ॥ ‘अरे मूर्ख! मलाई मारेर तैँले के पाउँछस्? तेरो पूर्वजन्मको शत्रु तँलाई मार्नका लागि कुनै स्थानमा पैदा भइसकेको छ।

अब तँ व्यर्थै निर्दोष बालकहरूको हत्या नगर्ने गर्’ ॥ कंसलाई यस प्रकार भनेर श्रीभगवती योगमायादेवीजी त्यहाँबाट अन्तर्धान भइजानुभयो अनि पृथ्वीका अनेक स्थानहरूमा विभिन्न नामहरूले प्रसिद्ध हुनुभयो ॥

“श्रीदेवीजीका यी कुरा सुनेर कंसलाई असीम आश्चर्य भइगयो। उसले त्यसै समय श्रीदेवकीजी अनि वसुदेवजीलाई कैदबाट छोडिदियो अनि बडो विनम्रताका साथ दुवै जनालाई भन्यो- ॥

‘मेरी प्यारी बहिनी अनि ज्वाइँजी! हाय-हाय, म बडा पापी हुँ। राक्षस जसरी आफ्नै बच्चा मार्दछ, त्यसरी नै मैले तिमीहरूका बहुतै छोरा मारेँ। यस कुराको मलाई बडा खेद छ ॥ म यति दुष्ट हुँ कि करुणाको त ममा लेश पनि छैन। मैले आफ्ना भाइ-बन्धु अनि हितैषीहरूसम्मलाई त्याग गरिदिएँ। थाहा छैन, अब मलाई कुन नरकमा जानु पर्ने हो। वास्तवमा त म ब्रह्मघाती समान जीवित हुँदा पनि मुर्दा नै हुँ ॥

केवल मनुष्य मात्र झुटो बोल्दैनन्, विधाता पनि झुट बोल्छन्। उसैलाई विश्वास गरेर मैले आफ्नी बहिनीका बच्चाहरू मारेँ। ओह! म कति पापी हुँ ॥ तिमी दुवै महात्मा हौ। आफ्ना छोराहरूका लागि शोक नगर। तिनले त आफ्ना कर्मकै फल पाएका हुन्।

सबै प्राणी प्रारब्धको अधीनमा छन्। त्यसैले ती सदा-सर्वदा एक साथ रहन सक्दैनन् ॥ जसरी माटोले बनेका पदार्थ बन्दै अनि बिग्रँदै रहन्छन्, परन्तु माटोमा कुनै अदलबदल हुँदैन– त्यसरी नै शरीरको त बन्ने-बिग्रिने भइनै रहन्छ; परन्तु आत्मामा यसको कुनै प्रभाव पर्दैन ॥

‘जो मान्छे यस तत्त्वलाई जान्दैनन्, ती यस अनात्म शरीरलाई नै आत्मा मानिलिन्छन्। यही उल्टो बुद्धि अथवा अज्ञान हो। यसैका कारण जन्म र मृत्यु हुन्छन्। अनि जबसम्म यो अज्ञान मेटिँदैन, तबसम्म सुख-दुःखरूप संसारबाट छुटकारा मिल्दैन ॥

मेरी प्यारी बहिनी! यद्यपि मैले तिम्रा पुत्रहरू मारेको छु, फेरि पनि तिमी तिनका लागि शोक नगर। किनभने सबै प्राणीहरूलाई विवश भएर आफ्ना कर्मका फल भोग्नु पर्दछ ॥

आफ्नो स्वरूपलाई नजानेका कारण जीव जबसम्म यो मान्दै रहन्छ कि ‘म मर्नेवाला हुँ, या मारिन्छु’, तबसम्म शरीरको जन्म अनि मृत्युको अभिमान गर्ने त्यो अज्ञानी बाध्य अनि बाधक-भावलाई प्राप्त हुन्छ। अर्थात् ऊ अरूलाई दुःख दिन्छ अनि स्वयं दुःख भोग्छ ॥

मेरो यो दुष्टता तिमी दुवै क्षमा गरिदेऊ; किनभने तिमी बडा नै साधुस्वभाव अनि दीनहरूका रक्षक हौ।’ यस्तो भनेर कंसले आफ्नी बहिनी श्रीदेवकीजी र ज्वाइँ वसुदेवजीका चरण पक्रियो। उसको आँखाबाट आँसु बगेर मुखसम्म आइरहेका थिए ॥

त्यसपछि उसले देवी श्रीयोगमायाजीका वचनहरूमा विश्वास गरेर श्रीदेवकीजी र वसुदेवजीलाई कैदबाट छाडिदियो अनि तरिका-तरिकाले बहिनी-ज्वाइँप्रति आफ्नो प्रेम प्रकट गर्न लाग्यो ॥

जब श्रीदेवकीजीले देख्नुभयो कि दाजु कंसलाई पश्चात्ताप हुँदैछ, तब दुवै जनाले उसलाई क्षमा गरिदिनुभयो। बहिनीले दाजुका पहिलेका अपराधहरूलाई भुलाइदिनुभयो र श्रीवसुदेवजीले हाँस्दै कंसलाई भन्नुभयो- ॥

‘मनस्वी कंस! तपाईँ जो भन्दैहुनुहुन्छ, त्यो ठीक त्यही नै हो। जीव अज्ञानका कारण नै शरीर आदिलाई ‘म’ मान्न पुग्दछ ॥ अनि यो भेददृष्टि भएपछि त ती शोक, हर्ष, भय, द्वेष, लोभ, मोह अनि मदले अन्ध हुन पुग्दछन्। फेरि त तिनलाई यस कुराको पत्तै हुन्न कि सबैका प्रेरक भगवान् नै एक भावले दोस्रो भावको, एक वस्तुले दोस्रो वस्तुको नाश गराउँदै हुनुहुन्छ’ ॥

श्रीशुकदेवजी बताउनुहुन्छ- “परीक्षित्! जब श्रीवसुदेव-देवकीजीले यस प्रकार प्रसन्न भएर निष्कपट भावले कंससँग कुराकानी गर्नुभयो, तब उहाँहरूबाट अनुमति लिएर कंस आफ्नो महलमा भइगयो ॥

त्यो रात्रि बितेपछि कंसले आफ्ना मन्त्रीहरूलाई बोलायो अनि श्रीयोगमायाजीले जो केही भन्नुभएको थियो, ती सबै तिनलाई भनि सुनायो ॥ कंसका मन्त्री पूर्णतया नीतिनिपुण थिएनन्। दैत्य भएका कारण स्वभावले नै ती देवताहरूप्रति शत्रुताको भाव राख्दथे। आफ्ना स्वामी कंसका कुरा सुनेर ती देवताहरूउपर अरू चिढिए अनि कंसलाई भन्न लागे-॥

‘भोजराज! यदि यस्तो कुरा हो भने हामी आज नै ठुला-ठुला नगरहरूमा, साना-साना गाउँहरूमा, अहिरका बस्तीहरूमा अनि अरू स्थानहरूमा जति बच्चा भएका छन्, ती चाहे दस दिनभन्दा अधिकका हुन् या कमका, सबैलाई आज नै मार्छौं ॥

समरभीरु देवगण युद्धोद्योग गरेर के नै गर्छन् र? ती त हजुरको धनुषको टंकार सुनेर नै सदा-सर्वदा घबराइरहेकै छन्…


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *