अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक। पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ।
बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो (टोकन/पालो) प्रणाली लागू गर्दै मालवाहक गाडी सञ्चालनमा नयाँ नियम लागू गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीसाधन रातको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। साँघुरो सडकका कारण १० टनभन्दा बढी भार भएका सवारीसाधन सञ्चालनमा जोखिम हुने भएकाले तौलको सीमासमेत तोकिएको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार धुलिखेल-खुर्कोट खण्डमा दुवैतर्फबाट आउने मालवाहक गाडीहरू बीच बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय तालिका मिलाइएको छ। यसका लागि सिन्धुली जिल्ला प्रशासन र ट्राफिक प्रहरीसँग आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, ग्यास बुलेटजस्ता ठूला तथा संवेदनशील मालवाहक गाडीहरूलाई धुलिखेल–भकुण्डे खण्डमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै आउजाउ गर्न दिइनेछ।
सडक सुरक्षालाई ध्यानमा राख्दै डिभिजन सडक कार्यालय भक्तपुरले जोखिमयुक्त र साँघुरा घुम्तीहरूको पहिचान गरी तत्काल सुधारको काम अघि बढाउने भएको छ।
सडक डिभिजन प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, कुनै पनि समय हुनसक्ने अवरोध हटाउन र सवारी आवगमन सहज बनाउन राजमार्गका संवेदनशील स्थानमा डोजर तथा आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment