भोटेकोशी बाढीपीडितका लागि अक्सिडेन्टल पब्लिक स्कुलको २ लाख ५१ हजार सहयोग

डिसी नेपाल
१८ भदौ २०८३ २३:११

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौंको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी तथा समग्र शिक्षालयको सामूहिक सहभागितामा रकम संकलन गरिएको उनले बताए।

प्रिन्सिपल पौडेलका अनुसार प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला शिक्षालयको तर्फबाट आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोग गरिएको हो। विद्यालयले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षासहित उद्धार कोषमा रकम हस्तान्तरण गरेको जनाएको छ।

विद्यालयका निर्देशक डिबी निरौलाले विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व भएको बताए। बाढीका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घर, व्यवसाय तथा अन्य भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा राज्यको प्रयाससँगै निजी क्षेत्र, शिक्षण संस्था, संघसंस्था र आम नागरिकको सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा अन्य सदस्यहरूको सामूहिक भावना र सहभागिताबाट सहयोग रकम जुटाइएको हो। व्यक्तिगत रूपमा सानो योगदान भए पनि सबैको सामूहिक प्रयासबाट उल्लेख्य रकम संकलन गर्न सकिने र त्यसले विपद्मा परेका परिवारलाई राहत पुर्‍याउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

विद्यालयका व्यवस्थापक तथा सूचना प्रमुख गोपाल पौड्यालले विपद्का बेला पीडितलाई सहयोग गर्नु शिक्षालयको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए। शिक्षालयको भूमिका केवल विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञान र शैक्षिक सीप प्रदान गर्नमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गराउनु पनि विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

‘विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदना सिकाउनु आवश्यक छ,’ पौड्यालले भने, ‘विपद्का बेला पीडित परिवारको साथमा उभिन सक्ने संस्कार विकास गर्न शिक्षालयले पनि आफ्नो तर्फबाट योगदान गर्नुपर्छ।’ उनले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन राज्यका निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था, शिक्षालय र नागरिक समाजको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विद्यालयले गरेको सहयोगले तत्काल राहत तथा उद्धारका लागि केही भए पनि योगदान पुग्ने विश्वास लिइएको छ। साथै, यस्ता सहयोगले विपद्का बेला सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने विद्यालयको धारणा छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्थापना लामो समयसम्म चल्ने प्रक्रिया भएकाले तत्कालीन राहतसँगै घरबास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार पुनर्निर्माणमा समेत सामूहिक पहल आवश्यक रहेको विद्यालयले जनाएको छ। अक्सिडेन्टल पब्लिक स्कुलले आफ्नो तर्फबाट गरिएको सहयोगलाई विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता र सामाजिक जिम्मेवारीका रूपमा लिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *