महाधिवेशन नरोकिए कांग्रेस विभाजनबाट जोगिँदैन : रमेश लेखक
कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको जारी महाधिवेशन प्रक्रिया तत्काल नरोके नेपाली कांग्रेसलाई विभाजन हुनबाट कसैले बचाउन नसक्ने चेतावनी दिएका छन्।
कञ्चनपुरको दोधारा-चाँदनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले पार्टी एकता जोगाउन आफ्नो पक्षले अझै पनि हदैसम्मको लचकता अपनाइरहेको स्पष्ट पारे।
विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक कार्यसमितिलाई विस्थापित गरिएकाले अहिलेको जटिल स्थिति उत्पन्न भएको बताउँदै उनले १४औँ महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशन पक्षलाई एकै ठाउँमा राखेर साझा निकास खोज्नुपर्नेमा जोड दिए।
आफूहरूको माग गगन थापालाई सभापतिबाट हटाउने नरहेको स्पष्ट पार्दै नेता लेखकले १४औँ महाधिवेशनका तर विशेष महाधिवेशनमा नपरेका नेताहरूलाई केन्द्रीय समितिमा समेटिनुपर्ने प्रस्ताव अघि सारिएको बताए।
यसो गर्दा सभापति थापा अल्पमतमा पर्ने डर भए उहाँले आफ्नो पक्षबाट थप सदस्य मनोनीत गरी बहुमत कायम राख्न सक्ने विकल्पसमेत दिइएको उनले जानकारी गराए। यसका साथै निर्वाचन, क्रियाशील सदस्यता छानबिन र अनुशासन समितिमा सभापतिले संयोजक र बहुमत राखेर अन्य समूहबाट कम्तीमा एक-एक प्रतिनिधि समेट्नुपर्ने उहाँको भनाइ थियो।
आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआउञ्जेल दुवै पक्षले महाधिवेशनका प्रक्रिया रोक्नु नै विभाजन टार्ने अन्तिम उपाय भएको लेखकको दाबी छ।
विगत ११ महिनादेखि पार्टी एकताका लागि प्रयास भइरहेको उल्लेख गर्दै उहाँले जबरजस्ती महाधिवेशन अघि बढाएर पार्टी फुटेमा त्यसको सम्पूर्ण जिम्मेवारी महाधिवेशन गराउने पक्षले नै लिनुपर्ने चेतावनी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment