नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, साधारण शेयरतर्फ ५% बोनस र १०.८०% नगद
काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा विनियोजन गरिएको छ। सो रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनको करसहित) वितरण गर्ने प्रस्ताव समेत गरेको छ।
हाल बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको सन्तोषजनक वित्तीय नतिजा र दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल दिन लाभांश प्रस्ताव गरिएको बैंकले बताएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो, जसले २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले हाल ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई सशक्त रूपमा अगाडि बढाएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment