बूढानीलकण्ठमा जिआइएस प्रविधिबाट विद्यालय नक्साङ्कन, शैक्षिक सूचना व्यवस्थापनमा नयाँ पहल

डिसी नेपाल
२४ भदौ २०८३ ९:४६

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिकामा भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर हस्तान्तरण गरिएको छ।

नगरपालिकासँग शैक्षिक क्षेत्रमा सहकार्य गर्दै आएको ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन्।

ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग तथा ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टरको प्राविधिक सहयोगमा केही वर्षदेखि नगरपालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको जिआइएस प्रविधिमा आधारित नक्साङ्कन र विद्यालयगत शैक्षिक सूचना व्यवस्थित गर्ने काम हुँदै आएको थियो।

यस क्रममा नगरपालिकाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई सफ्टवेयर सञ्चालन तथा प्रयोगसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो। सफ्टवेयरमार्फत विद्यालयको भौगोलिक अवस्थिति, दूरीलगायत शैक्षिक विवरणलाई व्यवस्थित रूपमा हेर्न र आवश्यक सूचना प्राप्त गर्न सकिने जनाइएको छ।

सफ्टवेयर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी उपयोग महत्वपूर्ण हुने बताए। उनले अब नगरपालिकाअन्तर्गतका सम्बन्धित वडा र विद्यालयले सफ्टवेयरको प्रभावकारी प्रयोग गर्ने विश्वास व्यक्त गरे।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले जिआइएसमा आधारित प्रणालीमार्फत देश तथा विदेशको जुनसुकै स्थानबाट बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको दूरी र विद्यालयसम्बन्धी आवश्यक विवरण हेर्न तथा बुझ्न सकिने जानकारी दिए।

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले विद्यालय नक्साङ्कन तथा शैक्षिक सूचना व्यवस्थापनका लागि तयार गरिएको प्रणाली शिक्षा क्षेत्रमा नवीन र उपलब्धिमूलक पहल भएको बताए। उनले स्थानीय तह, गैरसरकारी संस्था र प्राविधिक संस्थाबीचको यस्तो सहकार्य अन्य क्षेत्रका लागि समेत नमुना बन्न सक्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *