रसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

डिसी नेपाल
२४ भदौ २०८३ १२:५४

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थिति, खोजी तथा उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको प्रगतिबारे विस्तृत ब्रिफिङ लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्रीले यो छलफल बोलाएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिसकेका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफल लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यसूची रहेको छ।

यसैबीच, बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ र दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालनका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। सरकारले राहत र पुनस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भई कोषमा दाखिला हुने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *