पानी जहाजमा भीषण आगलागी, ५ जनाको मृत्यु, ८७ जना अझै बेपत्ता

डिसी नेपाल
२५ भदौ २०८३ ११:५०

काठमाडौँ। फिलीपीन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक फेरी (यात्रुवाहक डुङ्गा) मा भीषण आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ८७ जना अझै बेपत्ता रहेका छन्।

फिलीपीन्स कोस्ट गार्ड (तटरक्षक बल) ले घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको जनाएको छ। ‘एमभी जुनियर एस्टर’ नामको फेरीमा अचानक आगलागी भएको थियो। तटरक्षक बलका अनुसार दुर्घटनापछि तत्काल ४२ जनालाई सकुशल उद्धार गरिएको छ।

तटरक्षक कप्तान नोएमी कायब्याबले स्थानीय रेडियो स्टेशनलाई दिएको जानकारी अनुसार ८७ जना अझै बेपत्ता छन्। कोस्ट गार्डका प्रवक्ताले दिएको जानकारीअनुसार उक्त फेरीमा ११७ जना यात्रु र १७ जना क्रू सदस्य गरी कुल १३४ जना सवार थिए।

उद्धार गरिएका र मृत्यु भएका व्यक्तिहरूको प्रारम्भिक विवरणका आधारमा हाल ८७ जनाको खोजी भइरहेको छ। खोज तथा उद्धार कार्य निरन्तर जारी रहेकाले बेपत्ता हुनेहरूको सङ्ख्यामा फेरबदल हुन सक्ने प्रवक्ताले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *