एनभिएलः फाइनल प्रवेशका लागि काठमाडौँ र कर्णाली आमनेसामने

डिसी नेपाल
२६ भदौ २०८३ ८:४०

काठमाडौं। पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। दुवै टोली फाइनलमा पुग्ने लक्ष्यसहित कोर्टमा उत्रिँदैछन्।

लिग चरणमा काठमाडौँ र कर्णालीले समान पाँच खेल खेलेका थिए। दुवै टोलीले चार खेलमा जित निकाल्दा एक खेलमा हार व्यहोरेका छन्। लिग चरणमा भएको भेटमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो।

लिग चरणमा हात पारेको जितलाई निरन्तरता दिँदै काठमाडौँ फाइनलमा पुग्ने योजनामा छ। यता कर्णाली भने लिग चरणमा बेहोरेको हारको बदला लिँदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा छ। त्यसैले आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण स्पाइकर किङ्स बिहीबार नै फाइनलमा पुगिसकेको छ।

नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलोपटक आयोजना गरिएको हो। भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *