एकदिवसीय मान्यता जोगाउन नेपाललाई अन्तिम शृङ्खलामा कम्तीमा तीन जित आवश्यक
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी चक्रमा खराब प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टोलीलाई अब आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन कठिन चुनौतीको सामना गर्नुपर्ने भएको छ। एसिसी प्रिमियर कप २०२६ को उपाधि जितेपछि नेपाली टोलीको आत्मविश्वास बढेको भए पनि लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा निकाल्नुपर्ने दबाब कायमै छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तरको प्रदर्शन र चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवका कारण सन्दीपलाई पुनः कप्तानीको जिम्मेवारी दिइएको थियो। क्यानले कप्तान परिवर्तनसँगै टोलीमा केही खेलाडीसमेत हेरफेर गरेको थियो।
कप्तानीको जिम्मेवारी सम्हालेपछि सन्दीपसामु पहिलो ठूलो चुनौती एसिया कपमा छनोट हुनु थियो। नयाँ र अनुभवी खेलाडी सम्मिलित टोलीको व्यवस्थापन गर्नुपर्ने चुनौतीबीच उनले कप्तान र खेलाडीका रूपमा प्रभावशाली प्रदर्शन गरे। सन्दीपको नेतृत्वमा नेपालले एसिसी प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रोपटक एसिया कपमा स्थान बनाउन सफल भयो।
प्रतियोगितामा नेपालले कुल छ खेल खेल्दा पाँचमा जित र एकमा पराजय व्यहोरेको थियो। समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको नेपालले त्यहाँ पनि सानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै एसिया कपमा आफ्नो स्थान पक्का गर्यो।
नेपालको सफलतामा कप्तान सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण रह्यो। उनले प्रतियोगिताका छ खेलमा २.९८ को इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिए। बलिङमार्फत विपक्षी टोलीमाथि निरन्तर दबाब सिर्जना गरेका सन्दीप प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा उनी लगातार दोस्रोपटक सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन्। यसअघि सन् २०२३ को संस्करणमा पनि उनले उक्त अवार्ड प्राप्त गरेका थिए।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले एसिसी प्रिमियर कपमा सन्दीपको कप्तानी र व्यक्तिगत प्रदर्शन दुवै उत्कृष्ट रहेको बताए। उनका अनुसार सन्दीपले टोलीमा रहेका नयाँ खेलाडीलाई समेट्दै बलरहरूको सही सदुपयोग गरेका थिए।
“एसिसी प्रिमियर कपमा नेपालको नतिजा हेर्दा कप्तानका रूपमा सन्दीप सफल देखिएका छन्। उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अन्य खेलाडीलाई पनि मद्दत पुगेको छ,” चौधरीले रासससँग भने, “प्रतियोगितामा सन्दीपले बलरहरूको सही सदुपयोग गरे। टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उनको कप्तानी उत्कृष्ट रह्यो। आगामी प्रतियोगितामा पनि यस्तै नतिजाको आशा गर्न सकिन्छ।”
चौधरीले नेपालको उपाधि यात्रामा अन्य खेलाडीको योगदानलाई पनि महत्वपूर्ण माने। बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शनले टोलीलाई सफल बनाउन ठूलो भूमिका खेलेको उनको भनाइ छ। उनका अनुसार टोली एकढिक्का भएर खेल्नुका साथै दबाबको अवस्थामा खेलाडीले धैर्य कायम राख्दा नेपालले उपाधि जित्न सफल भएको हो।
अब भने सन्दीपको नेतृत्वमा रहेको नेपाली टोलीसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ। नेपाल हाल लिग–२ को तालिकामा सातौँ स्थानमा रहेको छ। नेपालले ३२ खेल खेल्दा ११ मा जित, १९ मा हार र दुई खेलमा अङ्क बाँडेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले तालिकाको शीर्ष छभित्र पर्नुपर्नेछ। त्यसका लागि जारी चक्रको अन्तिम शृङ्खलामा कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ। नेपालले अब ओमान र क्यानडाविरुद्ध खेल्न बाँकी छ। उक्त शृङ्खला आगामी अक्टोबरमा हुने तालिका छ।
पूर्वखेलाडी चौधरीले ओमान र क्यानडाको पछिल्लो प्रदर्शनलाई ध्यानमा राख्दा नेपालले अवसरको सदुपयोग गर्न सक्ने बताए। एसिसी प्रिमियर कपको उपाधिले नेपाली टोलीको मनोबल उच्च बनाएको उल्लेख गर्दै उनले अन्तिम शृङ्खलामा त्यसको सकारात्मक प्रभाव देखिन सक्ने धारणा राखे।
“नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ। उक्त शृङ्खलामा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ। यी दुई टोलीको पछिल्लो प्रदर्शन त्यति उत्कृष्ट छैन। एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीको आत्मविश्वास उच्च छ। नेपालले त्यसको फाइदा उठाउन सक्छ,” चौधरीले भने।
नेपालका लागि अब एसिया कपको सफलतालाई निरन्तरता दिँदै लिग–२ मा आवश्यक जित हासिल गर्नु मुख्य लक्ष्य हुनेछ। कप्तान सन्दीपको नेतृत्व, नयाँ तथा अनुभवी खेलाडीको संयोजन र टोलीको एकीकृत प्रदर्शनले नेपालको एकदिवसीय मान्यता जोगाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment