वर्तमान राजनीतिक ध्रुवीकरण, विदेशी प्रभाव र राष्ट्रियताको रक्षामा राप्रपाको भूमिका

पूर्ण ओली
१ असोज २०८३ ७:१९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग देश र जनताको हितमा अत्यन्तै राम्रा नीति तथा एजेण्डाहरू हुँदाहुँदै पनि पार्टीको चुनावी अवस्था भने निराशाजनक बन्न पुगेको छ। प्रायः सबै राजनीतिक दलका एजेण्डा कागजी रूपमा राम्रा देखिए पनि तिनको कार्यान्वयन कहिल्यै गरिएन।

अरू दलका नीति र घोषणापत्रभन्दा राप्रपाका नीतिहरू राष्ट्र र जनहित अनुकूल छन्, तर पनि जनताले गत निर्वाचनमा अपेक्षाकृत राम्रो मत दिएनन्। यसभन्दा अघिल्ला निर्वाचनहरूमा राम्रै जनमत प्राप्त भए पनि यसपालि मत उल्लेख्य रूपमा घट्यो र प्रत्यक्षतर्फ जम्मा एक जना मात्र सांसद निर्वाचित हुन सके।

यसको प्रमुख कारण राप्रपाले निर्वाचनको तयारीमा गरेको कमजोरी र आफ्ना एजेण्डाहरूलाई जनतामाझ आक्रामक रूपमा प्रस्तुत गर्न नसक्नु नै हो।

मुख्य रूपमा हिन्दुवादी र राजा समर्थक सबै मतदाताको मत आफ्नो पक्षमा तान्न नसक्नु पार्टीको ठूलो चुकेको पक्ष रह्यो। यदि सबै राजा समर्थकहरू र दुर्गा प्रसाईंको समेत समर्थन लिएर अघि बढेको भए यसपालि पनि राप्रपाले राम्रै मत प्राप्त गर्ने निश्चित थियो।

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोचेभन्दा अत्यधिक बढी मत प्राप्त गरी सरकार बनाउनसम्म सफल भयो। रास्वपाले यति धेरै समर्थन पाउनुको प्रमुख कारणमा रवि लामिछानेको भ्रष्टाचारविरोधी छवि र तत्कालीन एमाले सरकारले उनलाई अन्यायीपूर्ण तरिकाले मुद्दा थोपरेर जेलमा कोच्नु पनि हो।

अर्को कुरा, उसले सुरुमै प्रदेश सरकारको विरोध गर्दै प्रदेश सभामा कुनै पनि उम्मेदवार नउठाउनु पनि रणनीतिक रूपमा फलदायी बन्यो। खासगरी युवा पुस्ताको आकर्षण रवि लामिछाने र बालेन शाहप्रति अत्यधिक देखियो।

सामाजिक सञ्जालको भरपुर उपयोग गर्न स्वदेशदेखि विदेशसम्म रास्वपा पूर्ण रूपमा सफल भयो। रास्वपाको चुनाव चिन्ह पनि मन्दिरको घण्टा राखिएकाले त्यसबाट हिन्दुवादी जनतालाई समेत रास्वपाले सनातन धर्म फर्काउनेछ भन्ने आशा जगायो।

खासगरी विदेशमा बसेका युवाहरूको रवि र बालेनप्रतिको बलियो समर्थन र उनीहरूले नेपालमा फोन गरेर आफ्ना आफन्तलाई रास्वपालाई भोट हाल्न दिएको दबाब पनि जितको ठूलो कारण बन्यो।

तर, रास्वपाको सबैभन्दा ठूलो गल्ती भनेको गणतन्त्रलाई समर्थन गर्नु र धर्मनिरपेक्षता तथा संघीयताको विरुद्धमा उभिन नसक्नु हो। त्यही भएर रास्वपाको भविष्य खासै राम्रो र दिगो देखिँदैन। अहिले नेपाली जनता वास्तविक विकास चाहन्छन्।

भ्रष्टाचारीलाई कडा कारबाही र सनातन वैदिक धर्मको पुनरोत्थान होस् भन्ने जनताको चाहना छ। तर यसतर्फ बालेन वा वर्तमान सरकारले कुनै ठोस कारबाही गर्न सकेको छैन। यसरी परिवर्तन र विकासमा बाधा पुर्‍याउने प्रमुख तत्व भनेको अहिलेको संविधान नै हो, जसलाई संशोधन वा खारेज गर्नैपर्छ।

राप्रपाले अहिलेको संविधानमा संशोधन वा खारेजी गरेर भए पनि संघीयता अन्तर्गतको प्रदेश सरकार र धर्मनिरपेक्षता खारेज गरियोस् तथा संवैधानिक राजतन्त्रको स्थापना गरियोस् भन्ने चाहन्छ। जसले नेपालको अस्तित्व बचाउने र वैदेशिक हस्तक्षेप रोक्ने कार्य गर्छ।

अहिलेका दलका नेताहरू विदेशीका दास जस्ता मात्र बनेका छन्। उनीहरू विदेशीको अगाडि नतमस्तक हुँदा नेपालको स्वाभिमान गुम्ने मात्र होइन, भोलि देश नै नरहने अवस्थामा पुग्न सक्ने जोखिम बढेर गएको छ। त्यही भएर पनि अहिले राप्रपाका लागि ठूलो अवसर छ, किनभने अरू दल जस्तै राप्रपा बदनाम पनि छैन।

अहिले अमेरिकाको प्रख्यात पत्रिका ‘द ग्रे जोन’ ले रास्वपाका नेताहरू, बालेन, रवि र सुदन लगायतलाई अमेरिकाबाट परिचालित भनेर समाचार लेखेको छ। साथै नेपाली कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा पनि यस खेलमा जोडिएको दाबी गरिएको छ।

जसका लागि विगत ८-९ वर्षदेखि अमेरिकाले करोडौं डलर खर्च गरेर तयारी गरेको कुरा बाहिर आएको छ। यति गम्भीर विषयमा सरकारको तर्फबाट कुनै आधिकारिक विरोध वा खण्डन आएको छैन।

हुन त अमेरिका र इन्डियाले नेपालको हितभन्दा आफ्नो स्वार्थका लागि नेपालका नेताहरू परिचालित हुन् भन्ने चाहन्छन्। त्यसैले उनीहरू नेपालमा सधैँ अस्थिरता भइरहोस् र नेपाल सधैँ कमजोर एवं गरिब राष्ट्र बनिरहोस् भन्ने चाहन्छन्।

यही कारण अस्थिरता निम्त्याउन कहिले मधेस आन्दोलन त कहिले जेन-जी आन्दोलनका नाममा जनता भड्काउने कार्य भइरहन्छ। यदि अमेरिकी पत्रिका ग्रे जोनको खबर सत्य हो भने जनताले यो व्यवस्था र सरकारविरुद्ध फेरि विद्रोह गर्नेछन्।

यस्ता विद्रोहका लागि नेपालभित्रका एमाले र माओवादीहरू तयार छन् भने इन्डिया र अमेरिकाले बाहिरबाट यो आन्दोलनलाई सहयोग गरी नेपालमा थप अस्थिरता ल्याउन सक्छन्।

ऐतिहासिक रूपमा हेर्ने हो भने २०६२/६३ को आन्दोलनमा कसैले पनि हिन्दु राष्ट्र र राजसंस्था हटाउन चाहेका थिएनन्। सिर्फ अमेरिका, पश्चिमा राष्ट्रहरू र इन्डियाको तत्कालीन सोनिया गान्धी नेतृत्वको सरकारले मात्र यो परिदृश्य खोजेको थियो।

जसलाई सहयोग गर्न नेपालका माओवादी, एमाले लगायत कांग्रेसका प्रमुख नेताहरू तयार भएपछि व्यवस्था परिवर्तनसँगै रातारात हिन्दु राष्ट्र र राजसंस्था पनि हटाइयो।

आज सबै दलहरू व्यापक रूपमा बदनाम भइरहेको अवस्थामा राप्रपालाई आफ्नो पार्टी बलियो बनाई देशमा सनातन हिन्दु-बौद्ध राष्ट्रसहित राजसंस्था खडा गर्न दबाब दिने ऐतिहासिक अवसर छ। नेपाली जनताको यो चाहनालाई राप्रपाले सडकमा उतार्न सक्नुपर्‍यो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन धेरै भलाद्मी भएर पनि पार्टीका धेरै नेताहरू उनकै विरोधमा लागेको देखिए। केहीले पार्टी छोडेका छन् भने केही निस्कृय भएर बसेका छन्। त्यसैले अध्यक्ष आफैँ सक्रिय भएर अघि बढ्नुपर्‍यो।

राजेन्द्र लिङ्देनले अहिलेसम्म कुनै भ्रष्टाचार गरेको सुनिएको छैन, तर सबैलाई मिलाएर लैजान सक्ने हिम्मतिलो निर्णय गर्न भने उनी असक्षम जस्तै देखिएका छन्।

अरू दलको भन्दा निकै राम्रो नीति हुँदाहुँदै पनि त्यसलाई कार्यान्वयन गराउन पूरा दबाब दिन नसक्दा राजावादीहरूको प्रयास निरर्थक हुँदै गएको छ।

कांग्रेसभित्र पनि आधाभन्दा बढी नेता र कार्यकर्ता बीपीको सिद्धान्त अनुसार पार्टी चल्नुपर्छ भनिरहेका छन्। बीपीले ‘राजा बिनाको प्रजातन्त्र नेपालमा अफाप हुन्छ’ भनेका थिए, र त्यही भएर नै अहिले वामपन्थीहरूले देश बर्बाद पारिरहेका छन्।

अहिलेका केही युवा पुस्ताले मात्र राजाको महत्त्व बुझ्न नसकेको देखिन्छ। शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए भने राजा महेन्द्रले संसारभर नेपाललाई चिनाउने र नेपालको पूर्वाधार विकासको मजबुत आधारशिला खडा गर्ने काम गरेका थिए।

नेपालको स्वाभिमान, अरू देशसँगको असंलग्न सम्बन्ध र नेपालको इज्जतमा आँच पुग्न नदिने शक्ति राजसंस्था मात्र एउटा विकल्प हुन सक्छ। राजा जहिले पनि राष्ट्रवादी र सनातन हिन्दु-बौद्ध धर्मका संरक्षक बन्न सक्छन्।

कुनै पनि धर्मलाई हेला नगर्ने हिन्दु-बौद्ध धर्ममा यसरी क्षयीकरण भइरहँदा पनि अहिलेका शासकहरूले यसलाई रोकथाम गर्ने कुनै प्रयास गरेको देखिँदैन। त्यसैले यो मुलुक र यसको सार्वभौमसत्ता जोगाउन तथा विदेशी हस्तक्षेप अन्त्य गर्न नेपालमा राजसंस्था अपरिहार्य छ।

अहिले पश्चिमा राष्ट्रहरू अमेरिकासँग मिलेर नेपालमा क्रिश्चियानिटी फैलाउन अर्बौं रुपैयाँ खर्च गरिरहेको कुरा अमेरिकी राष्ट्रपति ट्रम्पले समेत बोलिसकेका छन्। त्यही भएर युएनडिपीको माध्यमबाट आउने सहयोग अमेरिकाले बन्द गरिदिएको छ।

अहिले संसारभर ५० भन्दा बढी राष्ट्र क्रिश्चियन धर्म मान्ने छन्। २०-२५ राष्ट्र इस्लामिक धर्म मान्नेहरू छन् भने १२-१५ वटा देश बौद्ध धर्म मान्नेहरू छन्। एउटा देश यहुदीहरूको इजरायल छ।

नेपाल पनि संसारभर छरिएर रहेका एक अर्बभन्दा बढी हिन्दुहरूका लागि एउटा मात्र हिन्दु राष्ट्र थियो। त्यस्तो पवित्र भूमिमा क्रिश्चियनहरूको आँखा पर्नुको कारण के थियो? किनकि उनीहरूले बुझेका छन्- हिन्दुले अरू धर्ममाथि हस्तक्षेप गर्दैन, सबै मानवलाई एकै देख्छ, र अहिंसा अनि परोपकारमा विश्वास गर्छ।

यहाँ हाम्रो सनातन वैदिक धर्म, मठ-मन्दिर र कला-कृतिले भरिएको सुन्दर देश छ, जहाँ ऋषिमुनिहरूले गीता, उपनिषद् र वेदहरू लेखे- जुन अहिले संसारका सयौँ भाषामा अनुवाद गरिएका छन्।

यी सबै मौलिक पहिचानलाई नासेर संसारमा एउटा क्रिश्चियन धर्म मात्र देख्न चाहन्छन्। त्यही भएर हिन्दु धर्मका विरुद्ध हाम्रा केही नेताहरूलाई पश्चिमाहरूले प्रयोग गरिरहेका छन्।

त्यसैले राप्रपाको नेतृत्वले अब ठूलो छाती बनाएर सशक्त रूपमा आफ्ना एजेण्डाहरू लिएर जनसमक्ष जानुपर्‍यो।

सबै सनातनवादी र राजसंस्थावादीहरूलाई एउटै एकताको सूत्रमा बाँधी, दुर्गा प्रसाईंको बोलीमा केही लगाम लगाउन लगाएर उनलाई समेत साथमा लिएर अघि बढ्न सके राप्रपाले विशाल जनसमुदायको साथ पाउनेछ।

रास्वपाले अदालत र अख्तियार जस्ता निकायलाई आफ्नो पकडमा लिन सकेन, किनभने ती निकायहरू पुराना दलहरूबाट सञ्चालित छन्। पुराना दल र तिनका नेताहरू अत्यन्तै भ्रष्ट र बदनाम भइसकेका छन्; यसको प्रत्यक्ष फाइदा राप्रपाले उठाउन सक्छ।

हाल: अष्ट्रेलिया


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *