प्रधानमन्त्री वालेन्द्र शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबीच भेटवार्ता

डिसी नेपाल
३१ भदौ २०८३ १३:०८

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गररेका हुन्।

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे।

भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकहरूसमेत प्रभावित भएको जानकारी दिए।

जलवायु परिवर्तनको असरस्वरूप नेपालले यस्ता विपद्को सामना गर्नुपरिरहेको उल्लेख गर्दै उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसका प्रभावहरू सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत दुवै देशले पारस्परिक लाभ हासिल गर्न सक्ने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्रीज्यूले नेपालमा अमेरिकी लगानीको सधैँ स्वागत गरिने बताए।

भेटवार्ताका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।

उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासहरूमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *