भोटेकोशी बाढी : फेला परेका ३६४ शवमध्ये १४ को पहिचान, ८१ आफन्तको डीएनए संकलन
नारायणगढ (चितवन)। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि चितवन क्षेत्रमा फेला परेका ३६४ शवमध्ये हालसम्म १४ जनाको मात्र पहिचान खुलेको छ। बाढीमा परी हराइरहेका अन्य व्यक्तिहरूको पहिचानका लागि उनीहरूका ८१ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका अधिकांश शवहरू गम्भीर रूपमा बिग्रिएकाले तत्काल पहिचान गर्न सकिने अवस्थामा थिएनन्। पहिचान खुलेका १४ वटा शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइसकिएको छ।
पहिचान खुल्न नसकेका ३४९ वटा शवको कानुनी प्रक्रिया र डीएनए नमुना सुरक्षित राखी सम्मानजनक व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। हाल फेला परेकामध्ये एउटा मात्र शवको व्यवस्थापन गर्न बाँकी रहेको छ।
हराइरहेका नागरिकका आफन्तहरूबाट संकलन गरिएको डीएनए नमुना परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइएको र परीक्षणको प्रतिवेदन आएपछि थप शवहरूको पहिचान हुने प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment