धनुषा बालिका अपहरण तथा करणी प्रकरण: मुख्य अभियुक्त राइन कारागार चलान

डिसी नेपाल
१ असोज २०८३ १०:००

धनुषा।धनुषामा १६ वर्षीया बालिकालाई अपहरण गरी १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी २३ वर्षीय ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्। धनुषा जिल्ला अदालतको भदौ २६ गतेको आदेशअनुसार उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसै घटनालाई २० लाख रुपैयाँमा मिलापत्र गराउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने अदालतको सोमबारको आदेशपछि एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

घटना घटेलगत्तै वैदेशिक रोजगारीका लागि कतार पुगेका राइनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो। पीडित बालिकाको बयानका आधारमा प्रहरीले वडाध्यक्ष कवारीलाई पनि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।

धनौजी गाउँपालिकाकी बालिकालाई घरैबाट अपहरण गरी जनकपुरका विभिन्‍न होटलमा पुर्‍याएर १९ दिनसम्म बन्धक बनाई जबरजस्ती करणी तथा बेचबिखन गरेको अभियोगमा राइनसहित दर्जनभन्दा बढी व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिएको छ।

यस प्रकरणमा दुई जना प्रहरी अधिकारीको समेत संलग्नता रहेको आरोप छ। हाल धनुषा जिल्ला अदालतमा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीका छुट्टाछुट्टै मुद्दा प्रक्रियामा छन् भने अधिकांश प्रतिवादीहरू अझै फरार रहेका छन्।

मुद्दाको मिसिल अनुसार, पहिलोपटक २०८१ चैत २९ गते विवाहको प्रलोभन देखाएर बालिकालाई अपहरण गरी जनकपुरका होटलहरूमा करणी र बेचबिखन गरिएको थियो।

त्यहाँबाट भाग्न सफल बालिकाले २०८२ जेठ ३ गते जाहेरी दिएकी थिइन्। तर समयमै प्रहरी अनुसन्धान अघि नबढ्दा मुख्य अभियुक्त वैदेशिक रोजगारीमा भागिसकेका थिए।

त्यसपछि पुनः २०८२ असार १७ गते बिहान घरैबाट गाडीमा आएका व्यक्तिहरूले आँखामा पट्टी बाँधेर बालिकालाई दोस्रोपटक अपहरण गरेका थिए।

बालिकालाई पिडारीचोकको होटल सीएफसी र मुरलीचोकको मधेश प्रदेश गेस्ट हाउसमा गरी कुल १९ दिन बन्धक बनाई जबरजस्ती करणी र व्यापारिक प्रयोजनका लागि करणी गर्न लगाइएको जाहेरीमा उल्लेख छ।

सुरक्षा जोखिम र चौतर्फी दबाबका कारण पीडित बालिकालाई हाल सेफ हाउस (सुरक्षित गृह) मा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *