चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१: तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारी (कार्की) ले आफ्नो निर्वाचन क्षेत्रमा नदी कटान र बाढीको जोखिम चुलिएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तन र प्राकृतिक विपद्को बढ्दो जोखिमबारे गम्भीर चेतावनी दिएको उल्लेख गर्दै उनले पहाडमा हुने अत्यधिक वर्षा, बाढी र पहिरोको प्रत्यक्ष असर तराई-मधेशसम्म पुगिरहेको बताइन्।
संसदमा बोल्दै सांसद भण्डारीले चुरे क्षेत्रको दोहन र वन विनाशका कारण प्राकृतिक सन्तुलन बिग्रिएको तथा त्यसको प्रत्यक्ष मार सर्लाही-१ ले भोग्नुपरेको स्पष्ट पारिन्।
उनका अनुसार लखनदेही नदीको निरन्तर कटानले लालबन्दी-१ को केही भूभाग टापुजस्तै बनेको छ भने फूलजोर, झिम, कालिन्जोर र झर्झराजस्ता नदी-खोलाले ५०० देखि १,००० हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरिसकेका छन्।
पछिल्लो समय १,००० हेक्टरभन्दा बढी धानखेत डुबानमा परेको र सर्लाहीको औसत धान उत्पादकत्व प्रतिहेक्टर ३.५६ टन रहेकाले यसले सिङ्गो देशकै खाद्य सुरक्षामा गम्भीर असर पार्ने चेतावनी उनले दिइन्।
नागरिकहरू वर्षामा बाढीको डुबान र सुख्खा मौसममा खडेरी तथा खानेपानीको संकट गरी दोहोरो मारमा परेको भन्दै सांसद भण्डारीले यो क्षतिलाई हरेक वर्षको सामान्य विपद् मानेर बस्न नसकिने बताइन्।
समस्या समाधानका लागि उनले सरकारसमक्ष मुख्य दुईवटा माग राखेकी छन्। बजेट विनियोजन भइसकेका तटबन्धका कामहरू तत्काल अघि बढाउन र जोखिमयुक्त नदी किनारको सर्वेक्षण गरी सुदृढीकरण गर्न उनले जोड दिइन्।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा भारततर्फ निर्मित ठूला संरचनाका कारण नदीको प्राकृतिक बहाव रोकिएर हुने डुबान समस्या समाधान गर्न भारतसँग प्राविधिक र तथ्यका आधारमा तत्काल कूटनीतिक संवाद अघि बढाउनसमेत उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment