कैलाली विद्या निकेतनको २६औं स्थापना दिवस : मानव सेवा आश्रममा भोजन, विद्यार्थीसँग साहित्यिक भलाकुसारी

डिसी नेपाल
१ असोज २०८३ १८:३२

धनगढी । कैलाली विद्या निकेतनले विविध सामाजिक तथा साहित्यिक कार्यक्रम आयोजना गरी आफ्नो २६औं स्थापना दिवस मनाएको छ।

वि.सं. २०५६ सालमा स्थापित यस विद्यालयले स्थापना दिवसको अवसरमा विद्यार्थी र शिक्षकहरूबीच शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न कार्यक्रम सम्पन्न गरेको हो।

स्थापना दिवसका अवसरमा विद्यालयले धनगढीको तारानगरमा सञ्चालित मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन सेवा प्रदान गरेको छ। साथै, नेपाल बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष एवम् बालसाहित्यकार विजयराज आचार्यको उपस्थितिमा विद्यार्थीहरूसँग ‘साहित्यिक भलाकुसारी’ कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले बताए।

उक्त कार्यक्रममा बालसाहित्यकार आचार्यले साहित्यिक विधा लेखनका सैद्धान्तिक पक्ष र आफ्नो लेखकीय जीवनका अनुभव विद्यार्थीमाझ प्रस्तुत गरेका थिए। उनले विद्यार्थीहरूले राखेका विधागत तथा रूचीका विभिन्न जिज्ञासाको समाधानसमेत गरेका थिए।

प्रिन्सिपल शाहले स्थापनाकालदेखि हालसम्म विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने संस्थापक, सञ्चालक, व्यवस्थापन समिति, अभिभावक समिति, शुभचिन्तक, अभिभावक,समाजसेवी, बौद्धिक व्यक्तित्व, साहित्यकार, पत्रकार, शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कक्षा नर्सरीदेखि कक्षा १० सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा वि.सं. २०६६ सालदेखि एसईई सञ्चालन हुँदै आएको छ। कक्षा ८ र १० मा उत्कृष्ट नतीजा प्रदर्शन गरिरहेको विद्यालयले यसअघि वि.सं. २०८१ र २०८२ लाई विविध कार्यक्रमका साथ रजत जयन्तीको रूपमा मनाएको थियो।

विद्यालयका संस्थापक/प्रिन्सिपल टोपेन्द्र शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशक रेखा सिंह , शिक्षक अनिलकुमार चौधरी, टेकराज भट्ट, शोभा देउवा, जानकी जेठारा, अमृता कलौनी, दिलेन्द्र ठगुन्नाले मन्तब्य राख्नुका साथै कार्यक्रममा सहजीकरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *