प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ पुस्तक विमोचन तथा परिचर्चा

डिसी नेपाल
५ असोज २०८३ १०:२५

काठमाडौं।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाज (अमेरिका) को आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रा संस्मरण ‘परदेश र अनुभूति’को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीताबस्नेतको सभापतित्व तथा एनआरएनए अमेरिका, भाषा-साहित्य समितिका अध्यक्ष एवम् साहित्यकार राजेन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकबाट साहित्यकार, विद्वान् तथा साहित्यप्रेमीहरूको प्रत्यक्ष एवम् भर्चुअल सहभागिता रहेको थियो।

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’, म्यारिल्याण्ड राज्यसभामुखका विधायक डा. ह्यारी भण्डारी तथा अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माको विशेष उपस्थिति रहेको थियो।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा, उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा र ददीन पाण्डेले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

साहित्यकार डा. ऋषि बस्ताकोटीले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सोही अवसरमा डा. बस्ताकोटीले कृतिकार प्रा. शिवहरि मरहट्टाको साहित्यिक तथा प्राज्ञिक परिचय प्रस्तुत गरेका थिए भने प्रभा पोखरेलले कृतिमा समावेश केही कविता वाचन गरेकी थिइन्।

कृतिमाथि कविद्वय उमा शर्मा र डा. शरद पराशर मरहट्टाले समीक्षा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रा. केशव सुवेदी, प्रा. डा. जगतप्रसाद उपाध्याय, कपिल खनाल, डा. ह्यारी भण्डारी, पदम विश्वकर्मा, ददीन पाण्डे, हरिहर अर्याल, केदारनाथ खनाल, डा. प्रभा कैनी, ईश्वर देवकोटा, डा. बालकृष्ण शर्मा तथा परिवारका तर्फबाट पुस्तकका प्रकाशक विश्वनाथ मरहट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले प्रा. मरहट्टाको दीर्घ साहित्यिक साधना, प्राज्ञिक योगदान तथा नेपाली भाषा-साहित्यप्रतिको समर्पणको चर्चा गर्दै कृतिको प्रकाशनका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’ले प्रा. मरहट्टाको विद्वत्परम्परा, साहित्यिक साधना तथा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरे।

सोही अवसरमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रा. शिवहरि मरहट्टालाई सम्मानपत्र प्रदान गरेको थियो। सम्मानपत्रमा नेपाली तथा संस्कृत भाषाको अध्यापन, अनुसन्धान र लेखनका माध्यमबाट नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गरिएको छ।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्यालले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता साहित्यिक गतिविधिको महत्त्वपूर्ण भूमिका रहने बताए।

कृतिकार प्रा. शिवहरि मरहट्टाले कार्यक्रममा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो। अन्तमा कार्यक्रमकी सभापति गीता बस्नेतको धन्यवाद मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *