बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क राहत तथा सञ्चार सुविधा घोषणा

डिसी नेपाल
५ असोज २०८३ १२:४१

काठमाडौं। नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्ला र सडक क्षेत्रका नागरिकका लागि विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका साथै गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी र मुग्लिन-नारायणगढ सडक क्षेत्रका बाढी प्रभावितहरूलाई लक्षित गरी यी सुविधाहरू ल्याइएको हो

यस योजनाअन्तर्गत बाढीका कारण क्षति भएका एनटी फाइबर  केबल र राउटर निःशुल्क उपलब्ध गराई जडान गरिनेछ भने मौजुदा ग्राहकको समयावधि समाप्त भएको भए तीन महिनाका लागि निःशुल्क समय थप गरिनेछ

साथै, बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि हराएको वा क्षति भएको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था मिलाइएको छ। उद्धारका क्रममा विभिन्न स्थानमा फसेका व्यक्तिहरूसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान प्याकेजसहितका सिमकार्ड उपलब्ध गराइएको छ

नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग पुर्‍याउने उद्देश्यले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको टोल फ्री नम्बर (१८१०५०००४०२) मा तीन महिनासम्मको महसुल छुट दिइएको छ

त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य सर्भर र ब्याकअप सर्भर जोड्न ‘डार्क फाइबर’ सुविधा उपलब्ध गराउनुका साथै रसुवा जिल्लाको सूचना, राहत तथा उद्धारसम्बन्धी तथ्यांक संकलन र प्रवाहका लागि १ वर्षसम्म उच्च गतिको इन्टरनेट र प्राविधिक सहयोग निःशुल्क दिइनेछ

राहत संकलन तथा व्यवस्थापनका लागि काठमाडौँको सामाखुसीस्थित केन्द्रमा १ महिनाका लागि १०० Mbps क्षमताको इन्टरनेट र जिल्ला प्रशासन कार्यालय भरतपुरको विपद् व्यवस्थापन युनिटलाई १ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ

टेलिकमले यसअघि नै कर्मचारीको योगदानसहित झन्डै २० करोड रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराइसकेको र बाढीबाट क्षति भएका करोडौँ मूल्यका दूरसञ्चार पूर्वाधारहरूको पुनर्निर्माण कार्यलाई समेत तीव्रताका साथ अघि बढाएको जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *