यमनमा तीव्र बन्दै मानवीय संकट: १ लाख ३० हजारभन्दा बढी विस्थापित, ताइजमा सबैभन्दा बढी प्रभाव

डिसी नेपाल
६ असोज २०८३ १०:३६

जेनेभा।  असुरक्षाका कारण यमनमा मानवीय संकट थप गहिरिँदै गएको छ। पछिल्लो समय देशका सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भइसकेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ। विस्थापित हुनेहरूमध्ये धेरैजसो पटक-पटक आफ्नो घर छाड्न बाध्य भएका छन्।

आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीका अनुसार विस्थापितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित रहेकोमा त्यसको तीन दिनभित्रै थप ११ हजार ३५२ जना नयाँ विस्थापित थपिएका छन्। आईओएमको तथ्याङ्कअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै ७३ हजार ४९४ जना मानिस विस्थापित भएका छन्।

सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित प्रमुख भूभागहरू नियन्त्रणमा लिएपछि यमन द्वन्द्वमा फसेको हो। त्यसपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थन गर्दै साउदी नेतृत्वको सैन्य गठबन्धनले हस्तक्षेप गरेको थियो।

वर्षौँदेखि जारी युद्ध, धराशायी आर्थिक अवस्था र लगातारका प्राकृतिक विपत्तिका कारण हाल यमनका लाखौँ नागरिक पूर्ण रूपमा मानवीय सहायतामा निर्भर हुन पुगेका छन्।

यसैबीच, ज्यान जोगाउन यमनबाट लाल सागर पार गर्दै जिबुतीतर्फ लाग्नेहरूको सङ्ख्या पनि बढिरहेको छ। आईओएमका अनुसार आइतबार साँझसम्म ३ हजार १०६ जना मानिस यमन छाडेर जिबुती पुगिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *