मौसम प्रतिकूल बनेपछि मनास्लु आरोहण रोकियो: भारी हिमपात र वर्षाका कारण धमाधम फर्कँदै आरोही

डिसी नेपाल
६ असोज २०८३ १३:०७

गोरखा। भारी हिमपात र निरन्तर वर्षाका कारण मनसुन प्रतिकूल बनेपछि मनास्लु हिमाल आरोहणका लागि पुगेका आरोहीहरू बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्।

दुई सातासम्म पर्खिँदा पनि मौसममा सुधार नआएपछि आरोहीहरू आरोहण बीचैमा छाडेर फर्किन थालेको मनास्लु हिमाल नजिकै रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए।

उनका अनुसार मनास्लु क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण त्यस वरपरका माथिल्ला भेगमा पाँच फिटसम्म बाक्लो हिमपात भइरहेको छ। “यस्तो प्रतिकूल मौसम त यसअघि कहिल्यै भएको थिएन।

निरन्तर पानी र हिउँ परिरहेको छ,” वडाध्यक्ष लामाले भने, “झन् असोज ८ गतेदेखि १२ गतेसम्म सरकारले उच्च सतर्कता अपनाउन भनेकाले आरोहीहरू धमाधम फर्किइरहेका छन्।”

मनसुनमा केही सुधार आए पनि अब यस याममा पुनः फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनको भनाइ छ। विगतका वर्षहरूमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने र भइहाले पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुई सातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताए।

“बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो। यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखेको थिएन,” लामाले भने, “यो वर्ष त पानी निरन्तर परिरहेको छ र हिमपात पनि उस्तै छ। बेस क्याम्पमै तीन फिटसम्म हिउँ परेको छ भने क्याम्प वान, टु र थ्रीतिर सातदेखि आठ फिटसम्म बाक्लो हिउँ परिसकेको छ।” उच्च जोखिम देखेकाले आरोहीहरू आरोहण रद्द गरेर फर्किएको उनले बताए।

बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै आरोहीहरू अनुकूल मौसमको पर्खाइमा रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाले बताए।

“हिमाल चढ्न नसकेर त अघिल्ला वर्षहरूमा पनि फर्किन्थे। यसपालि भने मौसम धेरै नै प्रतिकूल भएकाले अलि धेरै फर्केका हुन्,” उनले भने, “अहिलेसम्म करिब १० प्रतिशत जति आरोही फर्किएका होलान्।”

विश्वमै चर्चित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस शरद ऋतु (अटम) याममा करिब ५ सय आरोहीले अनुमति लिएका थिए।

गत वर्ष ६७ देशका ४१ वटा समूहका ३६६ जना पुरुष र १२७ जना महिला गरी कुल ४९३ जना आरोहीले अनुमति लिएका थिए, जसबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *