त्रिपुरेश्वर बस आगलागी प्रकरण: मृतक चालक अर्जुन दोङले अर्कैको लाइसेन्स दुरुपयोग गरेको खुलासा

डिसी नेपाल
६ असोज २०८३ १३:३८

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा भएको आगलागी घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ का अर्जुन दोङ तामाङ रहेका छन्।

भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो साढे १२ बजेतिर अचानक आगलागी भएको थियो। आगलागीबाट गम्भीर घाइते भएका चालक तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक तामाङले आफ्नै नामको नभई अर्कै व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रयोग गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनले यातायात समितिलगायत विभिन्न निकायहरूमा पेस गरेका कागजातमा समेत फरक-फरक व्यक्तिको लाइसेन्स दुरुपयोग गरेको पाइएको छ।

प्रवक्ता सुवेदीका अनुसार हालसम्म उनको आफ्नै नामको आधिकारिक लाइसेन्स फेला पर्न सकेको छैन। मृतकको शवको पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *