भावुक बनिन् सांसद रचना खतिवडा-जिउँदो छोरो ल्याइदेऊ, अहिल्यै सांसद छाडिदिन्छु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लोभमा संसद् नआएको स्पष्ट पार्दै जेनजी आन्दोलनमा बलिदान दिएका छोरासहित सम्पूर्ण सहिदको न्यायका लागि संसद्मा खबरदारी गरिरहेको बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खत्रीले आफ्नो व्यक्तिगत पीडा र न्यायको यात्राबारे बोल्दा संसद्को माहोल भावुक बनेको थियो। उनले आफ्ना छोराको बलिदान खेर जान नदिन र वर्तमान सरकारलाई उत्तरदायी बनाउन आफू संसद्मा पुगेको बताइन्।
आफ्नो मर्मस्पर्शी वक्तव्य राख्दै उनले भनिन्, “आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा हो। मेरो कोखमा नौ महिना हुर्किएर, ताते-ताते गर्दै मेरा आँखासामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो। यो एउटा पवित्र यात्रा हो।”
सहिदका परिवारमाथि हुने गरेका भ्रामक र निन्दनीय टिप्पणीप्रति कडा आपत्ति जनाउँदै उनले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर गरिएको आरोपले झनै पीडा थपेको बताइन्। उनले आफ्नो व्यक्तिगत शोक र पीडामाथि राजनीतिक आक्रमण नगर्न सबैलाई आग्रह गरिन्।
आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाएको खण्डमा आफू तत्कालै सांसद पद छाड्न तयार रहेको उल्लेख गर्दै उनले थपिन्, “आज पनि कसैले मेरो छोरो जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। सहिदहरूले न्याय पाए मलाई यो पद छाड्न एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन।”
आफ्नो छोरालाई गुमाइसके पनि अब अरू कुनै आमाले यस्तो पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले आफू राज्यलाई निरन्तर खबरदारी गर्न संसद्मा आएको उनले बताइन्। वर्तमान सरकारसँग आफ्ना थुप्रै प्रश्न र असहमतिहरू रहे तापनि आफूले जिम्मेवार सांसदका रूपमा आफ्ना कुराहरू राखिरहेको उनको भनाइ थियो।
सहिदकी आमा र परिवारको निरन्तर अपमान हुँदा पनि सरकार मौन बस्न नहुने भन्दै सांसद खत्रीले जेनजी आन्दोलनका सहिद तथा घाइतेका परिवारको अवस्थालाई तत्काल गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग जोडदार माग गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment