त्रिपुरेश्वर घटना : ९ बुँदे मागसहित ६ यातायात संगठनद्वारा आन्दोलनको चेतावनी

डिसी नेपाल
६ असोज २०८३ १६:४९

काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भई गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा मृत्यु भएपछि उपत्यकाको यातायात क्षेत्र उत्तप्त बनेको छ।

सवारी साधनमा आगो लागेर ज्यान गुमाएका चालकको घटनालाई लिएर यातायात क्षेत्रका ६ वटा प्रमुख महासंघ तथा संघ–संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न ९ बुँदे माग अघि सारेका छन्।

सार्वजनिक विज्ञप्तिअनुसार यातायात संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र आगजनीबाट नष्ट भएको सवारीसाधनका धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन पहिलो सर्तका रूपमा माग गरेका छन्।

विवाद सुरु भएदेखि घटना हुनेसम्मका घटनाक्रमको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र फोन सम्पर्कका आधारमा सरोकारवालासहितको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको जोड छ।

यसका साथै श्रम ऐन, २०७४ अनुसार सबै यातायात श्रमिकलाई अनिवार्य रोजगार सम्झौता लागू गर्न र सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ।

सडकमा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, मानसिक दबाब र कानुनी हैरानीविरुद्ध २४ घण्टे हेल्पलाइन तथा द्रुत न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने विषयलाई पनि संगठनहरूले प्राथमिकताका साथ उठाएका छन्।

ट्राफिक प्रहरीको कार्यशैली, चेकिङ र कारबाही प्रक्रियाको निष्पक्ष छानबिनका लागि सरोकारवाला सम्मिलित अनुगमन संयन्त्र बनाउनुपर्ने, सवारी ऐनअनुसार दिइएको कारबाहीको अधिकारलाई कानुनबमोजिम पुनर्व्यवस्थित गरिनुपर्ने र श्रमिकहरूको जीवन तथा पेसागत मर्यादाको सुरक्षा गर्नुपर्ने माग समेटिएका छन्।

यसबाहेक देशभरका सडकहरूमा व्यवस्थित बसबिसौनी, सार्वजनिक शौचालय र विश्रामस्थलजस्ता श्रमिकमैत्री पूर्वाधार निर्माण गर्न आग्रह गरिएको छ। आफ्ना मागहरू तत्काल सम्बोधन नभए कडा र शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिँदै ६ वटै संगठनले संयुक्त संघर्ष समिति गठन गरिसकेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *