कविता: एक चिहान
ऊ मौन थियो,
निरीह पनि।
उसको विवशतालाई नगण्य ठाने,
बेवास्ता गरे।
गरिबीले हो या आवश्यकताले,
तर विडम्बना!
गहना खोजी खोजी फुकाएर लगे।
उसलाई कसैले चिनेनन्,
केही थाहा नभएझैँ अन्जान बने,
मानवता नै हरायो!
ऊ सहिरह्यो,
अनेक हन्डर खाएर परिस्थितिसँग लडिरह्यो।
उसको सहनशीलताको निष्कर्ष निकाले-
“उसलाई कुनै पीडा नै छैन, त्यसैले शान्त छ।”
उसले प्रश्न गरेन,
सवाल–जवाफ गरेन।
कुनै ताली बजाएन,
सङ्केत पनि गरेन।
न विरोध गर्यो, न प्रतिकार नै!
उसले क्षणभरमै हजारौँ प्रश्न जन्मायो,
अनि गुमनाम भयो।
तर उत्तर दिनेहरूले बुझ्न सकेनन्,
बहिरा भए,
आफूलाई नै सर्वोपरि माने।
ऊ चुप थियो,
इशारा गरेन, न सिकायत नै गर्यो।
उसको चुप्पीभित्र एउटा विशाल संसार हरवखत बोलिरह्यो,
तर कसैले सुनेनन्, वास्ता गरेनन्।
उसले कुनै पत्र लेखेन,
सन्देश पठाएन, गुनासो पनि गरेन,
शान्त थियो।
तर उसको स्तब्धता हजारौँ शब्दभन्दा गहिरो थियो,
तीव्र वेगको छालजस्तै।
उसले आफ्नो पीडा पानीसँग घोलेर पियो,
आँसुहरू छालसँगै बगे।
धुमिल आशा निराशामा परिणत भयो,
ऊ बगर अनि रूखमा गएर थन्कियो- पार्थिव शरीर बनेर!
ऊ आवाजविहीन थियो,
परिस्थितिका अगाडि निरुपाय।
उसको मौनता खुला आकाशमुनि कैद भयो।
ओठमा कालो बादलभित्र मडारिएको मौसम थियो,
तर कसैले बुझ्न सकेनन्, न त देखे नै!
ऊ नबोलेरै धेरै बोलिरह्यो,
तर कसैले सोध्यो- “तिमी किन बोल्दैनौ?”
ऊ फिस्स हाँस्यो, मौनता साधिरह्यो।
सायद! उसलाई थाहा थियो-
जसलाई शब्दले बुझाउन सकिँदैन,
उसको अव्यक्तताले नै सिङ्गो कथा भनिरहन्छ।
ऊ बोल्दैनथ्यो,
तर उसको मौनताले अनगिन्ती कथा सुनाउँथ्यो।
ओठमा चुप्पी थियो,
आँखामा अगणित संवाद।
अनुहार शान्त थियो,
तर मनभित्र उर्लंदो समुद्रको गहिरो छाल।
मान्छेहरू उसको मौनतालाई कमजोरी मान्थे,
उसको मुस्कानलाई सन्तुष्टि ठान्थे, ध्यान दिँदैनथे।
कसैले बुझेनन् उसको मुस्कानभित्रको पीडा!
उसको मुस्कानले अपरिमित शब्द भनिरह्यो,
ऊ नबोलेरै धेरै बोलिरह्यो।
ऊ लाचार थियो, विवश उस्तै!
पर्खिरह्यो- “कोही त आउलान्,
आफन्त होलान्, खोज्लान्।”
स्तब्ध आँखाभरि उर्लंदा भावनाहरूका अगणित चित्कार सल्बलाइरहे।
कसैले सुनेनन्!
ऊ आवाज गरिरह्यो,
केवल बाँच्नका लागि संघर्ष गरिरह्यो।
अन्तिम साससम्म…
मान्छे न हो, थकित भयो, अचेत भयो,
अनि विलिन भयो सधैँसधैँका लागि- यो भौतिक संसारबाट!
कोही सेताम्मे छन्, कोही हिलाम्मे छन्,
कोही अझै छन् भूगर्भमा!
माटोमुनि दबिएका अनगिन्ती रहस्यहरू अझै मौन छन्।
उसलाई आस हुँदो हो-
जीवनको अन्तिम बिदाइमा सम्मान पाउने!
विचरो! भन्दो हो- “एक थुङ्गा फूल मेरो भागमा पनि पर्ला!”
श्रद्धाञ्जलीको आस गर्दो हो,
तर अफसोच!
कहिल्यै पूरा नहुने गरी दबिएका छन्-
कोही खोँचमा, कोही बगरमा, त कोही सुरुङमा।
पहिचान छैन, सम्पर्क छैन, कोही दाबेदार भएनन्।
अन्ततोगत्वा,
फरक परिवेश, फरक बाटो,
फरक पहिचान, फरक समुदाय,
फरक भूगोल, फरक संस्कृति…
तर अन्तिम बिदाइ र अनुभूति उस्तै!
सबैको यात्रा मौनताको,
नाम रहने भयो युगौँसम्म— परिचयसहितको
“एक चिहान, केवल एक चिहान!”
कविता: पहिचान
कसैले सोध्यो- “आखिर के हो त चिनारी? किन चाहिन्छ?”
मान्छे नामका पछाडि दौडिएको देख्छु,
दिनरात नभनी खटेको देख्छु।
तर अचम्म!
कसैले त्यही नाम विरासतमा पाएको छ,
न कुनै मिहिनेत, न कुनै लगानी,
बस वंशको प्रमाण बोकेको छ!
ऊ मख्ख छ सम्बन्धको पासपोर्ट पाएकोमा,
नामपछाडि खान्दानको ट्याग झुन्ड्याएको छ,
पुस्तौँदेखिको परम्परा धानेको छ,
देखाउँछ पूर्वजका नामावलीहरू।
पुलुक्क हेर्छु,
मौनता पनि सल्बलाउँदो रहेछ।
मैले यो नामका लागि के-के गरिनँ?
कति मौन बसेका दिनहरू सम्झेँ,
कति प्रश्न बोकेका अनुत्तरित रातहरू सम्झेँ!
कति पटक लडेँ, उठेँ…
“भयो अब पुग्यो” भन्ठानेँ!
मान्छे न हो, थाकेँ…
लाग्यो- अब यात्रा यहीँ टुङ्ग्याउँछु, गुमनाम हुन्छु!
तर नेपथ्यबाट मधुर स्वर आउँथ्यो-
“तेरो यात्रा अझै बाँकी छ।”
यो नाम मैले विरासतमा पाएको थिइनँ।
यदि पाएको भए,
म पनि बोक्थेँ होला खान्दानी ट्याग,
अनि गन्तव्य सहज बनाउँथेँ होला।
तर यसभित्र त मेरा जिउँदा सपना थिए,
कहिल्यै हार नमान्ने साहस थियो।
कहालीलाग्दा क्षण, भोगाइ र संघर्षका पदचापहरू थिए।
कसैको पहिचानले म उभिएको होइन,
समयका अनेक हन्डर र ठक्करले तिखारिएको हुँ।
यसभित्र मेरा कति आँसु लुकेका थिए,
कसैलाई व्यक्त नगरिएका अनगिन्ती कथा थिए,
कठिन यात्रा, बाधा अनि चुनौतीका अगणित परीक्षाहरू थिए।
मौन थिएँ, कमजोर थिइनँ,
झुकेको थिएँ, तर लडेको थिइनँ।
झिनो आस बाँकी नै थियो।
मलाई निच देखाउन कतिपयले मेरो मौनताको खिल्ली उडाए,
मजाक बनाए, कमजोर ठाने।
तर तिनीहरूलाई के थाहा- गहिरा नदीले किनारासँग बहस गर्दैनन् भनेर!
आज मेरो नाम देखेर लाग्न सक्छ- “वाह! क्या भाग्यमानी रहेछ!”
तर यदि नियतिले नै सित्तैमा दिएको भए किन मिहिनेत गर्नुपर्थ्यो र?
यो मेरो भोगाइको दस्तावेज हो,
अनि समयलाई तिरेर किनेको मूल्य हो।
हिजो जुन तगारो बन्यो, आज उसैले मेरो बाटो छोड्न थालेछ।
कस्तो अचम्म!
उसैले आज मेरो नामको अर्थ खोज्न थालेछ।
मलाई लडाउन हरसम्भव प्रयास गर्यो,
तर अफसोच!
आज उसैले मेरो सफलताको उचाइ नाप्न थालेछ।
त्यसैले म भन्छु- “मेरो नामसँग वंश नजोड।”
मसँग खान्दानी फेहरिस्त छैन,
समयले दिएको चोटको खाता भने लामै छ।
क–कसलाई सुनाऊँ खोइ?
आफ्ना र पराइले दिएका आघातहरू पनि लामै छन्।
नबोलेरै धेरै बोलिएका कथा थिए,
ओठमा चुप्पी थियो, तर मनमा हजारौँ प्रश्न थिए।
उत्तर दिने धेरै भेटिए,
तर प्रश्न बुझिदिने कोही भेटिएनन्।
हरेक प्रश्नका आफ्नै कथा छन्, आफ्नै व्यथा छन्।
हजारौँ शब्दभन्दा गहिरा छालहरू थिए।
बुझेँ- जीवन समुद्रको छालसरी रहेछ,
हरेक छालले किनारालाई छुन सक्दैन;
केही फर्कन्छन् त केही किनारामा नपुग्दै थाक्दा रहेछन्।
म पनि त त्यही समुद्रजस्तै रहेछु-
बाहिर शान्त, तर भित्र पराधीन छालहरूको कैद!
उसले व्यङ्ग्य गर्यो- “यी छालहरू किन धेरै उफ्रिएका?”
तुलना गरे… हो, म पनि त्यस्तै त रहेछु छालजस्तै!
जो बोल्यो, उसैका कुरा गहिरा,
उसैलाई सुन्ने, मान्ने अनि सर्वोसर्वा ठान्ने!
तर जो चुप रह्यो, उसको मौनतालाई कमजोरी ठान्ने!
शान्तिको अभिनय गर्न पनि कम्ता सहज थिएन।
कसैले सोध्यो- “के छ?”
मुस्कुराएर जवाफ दिनुपर्थ्यो- “सब ठिक छ!”
मसँग देखाउनका लागि चोटको बहीखाता थिएन,
सङ्घर्ष अनि दुःखका सूची पनि थिएनन्।
तर अनुभव भने राम्रै थियो-
सङ्घर्षले बाटो देखायो,
दुःखले सहन सिकायो,
अनि पीडाले जीवनको वास्तविकता बुझायो।
अपरिमित संघर्षका कथा बोकेर पनि समयले मौन पात्र बनाइरह्यो,
अन्तहीन यात्रा जारी नै रह्यो।
कति पटक लडेँ, उठेँ…
“भयो अब पुग्यो” भन्ठानेँ!
मान्छे न हो, थाकेँ…
लाग्यो- अब यात्रा यहीँ टुङ्ग्याउँछु, गुमनाम हुन्छु!
तर नेपथ्यबाट फेरि मधुर स्वर आउँथ्यो—
“उठ्! सबै कुरा आजै जित्नु पर्दैन।
बस, एक पाइला चाल, बिस्तारै आफ्नो गतिमा,
तेरो यात्रा अझै बाँकी छ।
एकदिन तेरो मौनता आवाज बन्नेछ,
आँसु नदी बन्नेछ,
आज थाकेको मन फेरि उठ्नेछ।”
जीवनमा थकाइले अल्पविराम खोज्ने रहेछ, तर अन्त्य होइन।
जसले जीवनलाई सम्हाल्छ, फेरि नयाँ वाक्य लेख्न थाल्छ।
पूर्णविरामले कथा अधुरै रहन्छ,
तर पात्रहरू सम्झनामा सीमित हुन्छन्।
मैले बुझेँ-
“चोटले मान्छेलाई कमजोर बनाउँदैन, अब सङ्घर्षसँग डर लाग्दैन।”
किनकि टुट्नु अन्त्य होइन रहेछ,
टुटेर पनि आफूलाई समेट्नु जीवनको मजबुत पाटो रहेछ।
अब कसैले सोध्यो भने “म ठिक छु” भन्नै पर्दैन,
आँखाले नै सफलताको बिगुल बजाउनेछ,
नलेखिएका कथाहरू सुनाउनेछ।
अनि म पनि निर्धक्कले भन्नेछु-
“रात जति लामो भए पनि बिहानीले आफ्नो बाटो कहिल्यै बिर्सँदो रहेनछ।”
यो नाम मैले विरासतमा पाएको थिइनँ,
यसभित्र त कहिल्यै हार नमान्ने साहस थियो,
कहालीलाग्दा क्षण, भोगाइ र सङ्घर्षका पदचापहरू थिए…।
कविता: जीवनवृत्तान्त
कसैले सोध्यो- “के हो बाल्यकाल?”
मैले मन्दहासका साथ जवाफ फर्काएँ-
“जहाँ गल्तीहरू गल्ती हुँदैनन्,
न केही पाउने आस, न गुमाउने डर!
न छल, न कपट!
साक्षात भगवान्को रूप हो बाल्यकाल।”
बाल्यकालका ती अनौठा गल्तीहरू पनि कम्ता प्रिय थिएनन्,
जहाँ गल्तीका कुनै सजाय थिएनन्, न त अपराधबोध नै!
गल्तीमा पनि माया लुकेको हुन्थ्यो।
सानो हुनुको पनि अलग्गै मजा थियो!
त्यतिबेला हार्नु भनेको खेलमा पछि पर्नु मात्रै थियो।
जित्दा आमाको मुस्कान पाउनु,
स्नेहले भरिएका नजरले सुम्सुम्याइनु,
असीम माया र प्रेम पाउनु पनि कम्ता रोचक थिएन र?
त्यतिबेला माटोमा कोरिएका ती सपना,
बालुवामा बनाएका ती चित्र,
नदीका छालले कहाँ पुर्याइदिएछ, मेटाएछ!
अनि त आज हाम्रा समयका पाना फिक्का र धुमिल छन्।
जीवनले धेरै कुरा सिकायो-
कहीँ लडायो, कहीँ उठायो;
कहीँ दियो त कहीँ लियो।
तर एउटा कुरा सदाका लागि खोस्यो-
गल्ती गरेर पनि हाँस्न पाउने त्यो बालापन!
त्यसैले त म भन्छु-
“ती गल्ती गल्ती थिएनन्,
ती त जीवनमा आउने सङ्घर्ष, चुनौती अनि जीवन जिउने कलाका अभ्यास थिए।”
लडेर उठ्न सक्ने अनि हारेर दौडन सक्ने,
आफ्नो र पराइ चिन्ने कला थिए।
तिता-मीठा भोगाइको सँगालो रहेछ,
जीवनले व्यावहारिक पाठ सिकाउँदो रहेछ,
अनुभव र सङ्घर्षको प्रमाण रहेछ।
अहिले कतिपय घाउमा मलम लाग्दैनन्,
त्यसैले त लाग्छ-
ती चोटहरू मेरो जीवनका अध्याय रहेछन्, सिकाइ रहेछन्।
सङ्घर्षका सीमाहीन परीक्षाहरू थिए;
कहिले काँडेबार बनेर त कहिले आँधी बनेर पछ्याइरह्यो।
दुःखले कहिल्यै बिदा र विश्राम लिएन,
टुटेको झिनो आशा र फिरफिर पखेटा लिएर
गरुडझैँ खुला आकाशमा उड्ने सपना देखिरह्यो।
सायद! त्यसैले होला,
अभावले ढोका थुन्दा पनि पीडाले कहिल्यै प्रश्न गरेन।
कहिले आफ्नै छायाले साथ छोडेजस्तो लाग्यो,
कहिले कसैले पछ्याइरहेजस्तो लाग्यो,
कहिले आफन्त बनेर बोलाएजस्तो लाग्थ्यो।
तर कसैले सोध्यो- “के छ तेरो खबर?”
पाइलैपिच्छे डर देखाउँथे, तर्साउँथे, भयभीत बनाउँथे।
तर पाइला रोकिएन,
किनकि धैर्यको परीक्षा नै सही गन्तव्य रहेछ।
तिनै अपरिमित सङ्घर्षलाई नै मैले अनुभवका अक्षर बनाएर साटेँ,
अनि मुस्कुराएर भनेँ- “ठिक छ, सब ठिक छ!”
बाहिरी मुस्कानले वास्तविकता ढाक्ने हरसम्भव प्रयास गरेँ।
समयले दिएको आँसुलाई नै मैले साहसको मसी बनाएँ,
अनि रङ्ग्याएँ सादा पानाहरू,
अनि कोर्न थालेँ अनुभव र भोगाइका तिता-मीठा निमेषहरू।
जीवन भोगाइमा मैले चिनेँ-
“यो त मानिसभित्र लुकेको आगो चिन्ने खुबी रहेछ।”
तर समयले एउटा कुरा बारम्बार दोहोर्याइरह्यो, भनिरह्यो-
“जीवनमा सबैभन्दा ठूलो गुरु किताब मात्र होइन रहेछ;
कहिलेकाहीँ परिस्थिति पनि इच्छाविपरीत उभिँदो रहेछ- ठिङ्ग, मजबुत र कठोर शिक्षक बनेर।”
जुन मेरो चेतना, अनुभूति, समय, साधना
र अन्तर्मनबाट निस्किएको अस्तित्वको एक अंश थियो।
जीवनका अनुभूति, कल्पनाको धरातलमा
शब्दले सिञ्चेर बनाएको उर्वर अनुभूति थियो।
हो, त्यसैले म भन्छु-
“सिर्जना कागजमा उतारेको संवेदना हो, अनुभूति हो, साधना हो,
स्रष्टाको धड्किएको आत्मस्वर अनि विनत ध्वनि हो,
जसले जीवनको वास्तविक अर्थ र मूल्य बुझाउँछ।”
यहाँ सबैका अलग-अलग जीवनगाथा छन्।
कसैको मुहारमा हाँसो छ त कसैको दबिएको आँसु!
कसैको मनमा शान्ति छ त कसैको मौनताको चित्कार!
कसैको सुनाउन सकिने सफलताको कथा छ, बाटो छ, विजयका कथा छन्;
तर कसैको सङ्घर्षका बिच हारेर बाँच्नुपर्ने बाध्यता छ, अभाव छ,
त कति लुकाएर बाँच्नुपर्ने पराजयका कथा छन्।
बाहिर झट्ट हेर्दा सबैका जीवन उस्तै लाग्छन्,
तर सबैका छुट्टाछुट्टै संसार छन्।
कोही पूर्ण छैनन्, सबैका अधुरा कथा र व्यथा छन्।
कसैका लेखिन्छन्, कसैका पढिन्छन्,
त कसैका महसुस मात्र गरिन्छन्।
हरेक अनुहारमा एउटा मुखौटो हुन्छ;
बाहिरबाट चट्टानजस्तो देखिए पनि भित्र खाली बालुवाको घर हुन्छ।
कतिबेला छताछुल्ल हुन्छ, थाहा छैन।
अरूको पीडामा सान्त्वनाको चाङ थुपार्छ,
उज्यालो बोकेर हिँडेको अभिनय गर्छ,
तर भित्र खोक्रो हुन्छ।
कहिले सम्बन्ध जोगाउन हार्छ,
कहिले घर र स्वाभिमानलाई बन्धक राखेर कैयौँ पटक हार्छ।
तर नाटक गर्नेहरूको कमी छैन यहाँ;
नजिक रहेर हावाको भूमिका खेलेर बलेको दियो निभाउनेहरूको कमी छैन!
तर अचम्म त के छ भने-
अरूलाई साहसका कथा सुनाउनेहरू स्वार्थका अगाडि आफैँ नतमस्तक छन्, लाचार छन्!
सायद! यहीँ त छ विडम्बना-
कसैले चरित्रको प्रमाण बोकेर हिँडेका छन्,
त कसैले आफ्नै अनुहार ऐनामा खोज्न डराउँछन्।
कसैको घरमा उज्यालोका कथा छन्,
त कसैको घरमा अँध्यारोको साम्राज्य!
त्यसैले त भन्छु- “यहाँ सबैका अलग-अलग जीवनगाथा र कथा छन्।”
कसैले समयलाई दोष दिएर पन्छिन खोज्छ त कसैले भाग्यलाई।
तर अफसोच!
कसैले बुझ्न चाहँदैनन् कि मौनताले पनि संघर्षको इतिहास लेख्छ भनेर।
बाहिरी पृष्ठ रङ्गीन मुस्कानको,
बिचका अध्याय संघर्ष, बाधा, चुनौती र कठिन परिस्थितिको,
र अन्तिम अध्याय समयले लगाएको पूर्णविराम, निष्कर्ष अनि उपसंहारको!
यहाँ पर्दा नझरुञ्जेल सबै नायक हुन्।
जब रङ्गमञ्चको पर्दा खस्छ,
त्यसपछि न पद रहन्छ, न मान, न सम्मान, न त प्रतिष्ठा नै!
जीवनको सबै तामझाम सकिन्छ।
त्यसैले त म भन्छु- “यहाँ केवल कर्म बोल्यो, समय साक्षी बन्यो।”
सङ्घर्षका अपरिमित परीक्षा दिन पनि कम्ता सहज थिएन।
समय हरेक पटक प्रश्न बोकेर उभिन्थ्यो,
उत्तर चाहिँ कहिल्यै सजिलो खोजेन।
तर अचम्म त के छ भने-
जसले जीवनको सङ्घर्ष पढेकै छैन, बुझेकै छैन,
उत्तरपुस्तिका जाँच्न चाहिँ उसैलाई अगाडि तेर्सायो!
बल्ल बुझेँ-
जीवन भनेको त परीक्षामा उत्तीर्ण हुनु मात्र होइन रहेछ,
प्रश्नका उत्तर जाँच्नु मात्र पनि रहेनछ।
यो त गलत प्रश्न हातमा पर्दा पनि मौन भएर उत्तर लेखिरहनु रहेछ- धैर्य रहेछ!
उही नै समयविजेता रहेछ!
No ads found for this position




Facebook Comment